काठमाडौँ।अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सुरक्षा र तयारीबारे उच्चस्तरीय छलफल गरेकी छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको बैठकमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त, आयुक्तहरू र तीन वटै सुरक्षा निकायका शीर्ष अधिकारी सहभागी थिए।
बैठकको उद्देश्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने रणनीति तय गर्नु रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
२०८२ भदौमा भएको ऐतिहासिक ‘जेन-जी आन्दोलन’ र त्यसपछि आएको राजनीतिक परिवर्तनपछि बनेको अन्तरिम सरकारको मुख्य जिम्मेवारी निष्पक्ष निर्वाचन गराउनु हो ।
प्रधानमन्त्री कार्कीले मतदान स्थलको संवेदनशीलताका आधारमा वर्गीकरण गरी विशेष सुरक्षा योजना तत्काल लागू गर्न सुरक्षा निकायलाई निर्देशन दिएकी छन् ।
उनले निर्वाचन आयोगलाई मतदाता नामावली अद्यावधिक गर्न र मतदान केन्द्रको प्राविधिक व्यवस्थापन तीव्र बनाउन आग्रह गरेकी छन्। बैठकमा आन्दोलनपछिको बदलिँदो सुरक्षा वातावरण र सम्भावित निर्वाचन विरोधी गतिविधिबारे छलफल भएको थियो।
युवा मतदाताको सुरक्षा र सक्रिय सहभागिता सुनिश्चित गर्ने विषयमा पनि गहन संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



