जेनजी आन्दोलनमा एक अर्ब २ करोड ६४ लाख बराबरको चोरी

by समतल अनलाइन
93Shares

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा देशभर नगद र बहुमूल्य वस्तुमा २ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। यसमा जलेर नष्ट भएको रकम मात्रै २३ करोड ६९ लाख रुपैयाँ छ ।

अन्तरिम सरकारले गठन गरेको क्षति मूल्यांकन समितिको प्रतिवेदन अनुसार, चोरी, आगजनी र तोडफोडका कारण क्षति पुगेको हो । चोरीबाट सबैभन्दा बढी ५७ प्रतिशत नोक्सानी भएको देखिन्छ भने आगजनी र तोडफोडले क्रमशः ३०.९ र ११.६ प्रतिशत असर पुर्‍याएको छ।

सुन, चाँदी, हिरा र मोतीजस्ता बहुमूल्य धातुमा पनि ठूलो क्षति भएको छ । चोरीबाट १ अर्ब २ करोड ६४ लाख रुपैयाँ बराबरको नोक्सानी पुगेको छ। आगजनी र तोडफोडले क्रमशः १३ करोड ११ लाख र ९३ लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ ।

घरपरिवारको नगद र बहुमूल्य वस्तुमा सबैभन्दा बढी नोक्सानी सुन, चाँदी, हिरा र मोतीमा परेको छ । कुल नगदमा १२ करोड ६५ लाख र अन्य बहुमूल्य वस्तुमा ७ करोड ५८ लाख रुपैयाँ बराबरको क्षति भएको छ। चोरीबाट सबैभन्दा बढी ७३ करोड ४३ लाख, आगजनीबाट १७ करोड ६ लाख र तोडफोडबाट ५ करोड ४ लाख बराबरको नोक्सानी भएको प्रतिवेदनमा उल्लेख छ।

सामुदायिक र अन्य क्षेत्रका नगद तथा बहुमूल्य वस्तुमा पनि ठूलो क्षति भएको छ । नगदमा ३३ करोड ७० लाख र अन्य वस्तुमा १६ करोड २३ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ। निजी प्रतिष्ठानले बेहोरेको क्षति भने कुलको सानो हिस्सा मात्रै, ५६ करोड १८ लाख रुपैयाँ बराबर रहेको छ ।

You may also like