बुटवलमा सातौँ राष्ट्रपति रनिङ शिल्डः ४२ विद्यालयका १,५८८ विद्यार्थी प्रतिस्पर्धामा

by समतल अनलाइन
114Shares

बुटवल । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ। प्रतियोगिता बुटवल–११ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आयोजना हुनेछ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नगर खेलकुद विकास समितिले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
प्रतियोगितामा बुटवल उपमहानगरपालिका अन्तर्गतका ४२ वटा सामुदायिक तथा निजी विद्यालयका १ हजार ५८८ जना विद्यार्थी खेलाडी सहभागी हुनेछन्। जसमा ९४१ जना छात्रा र ६०७ जना छात्र रहेका छन्। नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाका अनुसार प्रतियोगितामा कूल ३५० वटा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
एथलेटिक्सतर्फ दौड, ज्याभलिन थ्रो, सटपुट, लङ जम्प, हाई जम्प, ट्रिपल जम्प लगायतका विधा समावेश गरिएका छन्। यस्तै, कराँते र तेक्वान्दो तर्फ ६–६ वटा विधामा प्रतिस्पर्धा हुनेछ भने भलिबल र कबड्डी खेल पनि समावेश गरिएको छ।
रनिङ शिल्ड प्रतियोगिताको विजेता विद्यालयलाई नगद २५ हजार रुपैयाँ प्रदान गरिनेछ। उपविजेताले १५ हजार र तृतीय हुने विद्यालयले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
विधागततर्फ छात्रा तथा छात्र भलिबल प्रतियोगितामा विजेता समूहलाई १५ हजार रुपैयाँ र द्वितीय हुने समूहलाई ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। कबड्डीतर्फ प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः १५ हजार, ७ हजार ५ सय र ३ हजार ५ सय रुपैयाँ नगद प्रदान गरिनेछ।
एकल प्रतिस्पर्धातर्फ कराँते र तेक्वान्दोमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने समितिले जनाएको छ। प्रतियोगिताको अवधिमा सहभागी विद्यार्थीका लागि दुर्घटना बीमाको समेत व्यवस्था गरिएको छ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले यो प्रतियोगितालाई खेलकुद मेलाको रूपमा लिइएको बताउँदै यहाँबाट विद्यार्थीका उत्कृष्ट खेल प्रतिभा पहिचान गर्न सकिने बताए। उनले प्रतियोगितालाई बुटवलकै उत्कृष्ट खेलकुद प्रतियोगिताका रूपमा सम्पन्न गर्न निर्देशन समेत दिए।
उपप्रमुख सावित्रादेवी अर्यालले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रतियोगिताले सामूहिक भावना र प्रतिस्पर्धात्मक क्षमताको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्।

You may also like