निद्राको डेटा अध्ययन गरेर रोगको जोखिम पत्ता लगाउने ‘स्लीपफम’ एआई विकास

by समतल अनलाइन
51Shares

काठमाडौँ । अनुसन्धानकर्ताहरूले एउटा नयाँ र स्मार्ट आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल सिर्जना गरेका छन् । जसले निद्राको डेटाको आधारमा, भविष्यमा १०० भन्दा बढी रोगहरूको जोखिम छ कि छैन भनेर बताउन सक्छ । यो एआई मोडेललाई स्लीपएफएम (स्लीपफम) नाम दिइएको छ ।

यो स्ट्यानफोर्ड विश्वविद्यालयसहित धेरै अनुसन्धान संस्थाका वैज्ञानिकहरूले तयार पारेका हुन् । यो मोडेल लगभग ६५ हजार मानिसहरूको लगभग ६ लाख घण्टाको निद्राको डेटामा प्रशिक्षित गरिएको छ ।

नेचर मेडिसिनमा प्रकाशित अनुसन्धान अनुसार, यो एआई पहिलो पटक सामान्य निद्रासँग सम्बन्धित कार्यहरूको लागि परीक्षण गरिएको थियो । जस्तै निद्राका विभिन्न चरणहरू पहिचान गर्ने र स्लीप एपनियाको गम्भीरता बुझ्ने, त्यसपछि, निद्राको डेटा अस्पतालको स्वास्थ्य रेकर्डसँग जोडिएको थियो । अनुसन्धानकर्ताहरूले एक हजारभन्दा बढी रोगहरूको विश्लेषण गरेका थिए । जसमा एक हजार मध्ये १३० रोगहरूको यो मोडेलले निद्राको डेटाको सही भविष्यवाणी गर्न सक्षम भएको उल्लेख छ ।

स्ट्यानफोर्ड विश्वविद्यालयका निद्रा औषधिका प्राध्यापक तथा यस अध्ययनका वरिष्ठ लेखक इमानुएल मिग्नोटले यस अनुसन्धानका बारेमा भनेका छन्- ‘निद्राको समयमा, शरीरले धेरै महत्त्वपूर्ण संकेतहरू प्राप्त गर्छ । शरीर लगभग ८ घण्टासम्म स्थिर अवस्थामा रहन्छ, जसले अत्यन्तै समृद्ध र उपयोगी डेटा प्रदान गर्दछ ।’ स्लीपएफएमले पोलिसोम्नोग्राफी डेटा प्रयोग गर्दछ, जुन निद्रा स्क्रिनिङको सुनौलो मानक मानिन्छ ।

यसमा मस्तिष्क गतिविधि (इइजी ), मुटुको धड्कन (इसीजी), मांसपेशी चाल, श्वासप्रश्वासको ढाँचा, नाडी र अक्सिजन स्तर जस्ता विषयलाई समावेश गरेर अध्ययन गरिएको थियो ।

अध्ययन प्रतिवेदन अनुसार यस एआइले क्यान्सर, गर्भावस्थाका जटिलता, मुटु र रक्तसञ्चार सम्बन्धि रोग, मानसिक रोग, पार्किन्सन जस्ता स्नायु समस्या, स्ट्रोक र मुटुको विफलता जस्ता रोगको सटिक विश्लेषण गरेको दाबि गरिएको छ ।

अनुसन्धानकर्ताहरूले प्रतिवेदनमा एक रातको निद्रा डेटाले पनि हृदयघात, डिमेन्सिया, मिर्गौला रोग र मृत्यु जस्ता गम्भीर रोगहरूको जोखिमको भविष्यवाणी गर्न एस एआईले मद्दत गर्न सक्ने दाबि गरेका छन् ।

You may also like