बुटवल। नेकपा (एमाले) को भ्रातृ संस्था राष्ट्रिय युवा संघकी केन्द्रीय सदस्य रहेकी श्रद्धा कुँवर क्षेत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवार बनेकी छन्। रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूची अनुसार उनको नाम महिला (खस/आर्य) समूहअन्तर्गत चौथो नम्बरमा समावेश गरिएको छ।

श्रद्धा यसअघि एमाले रुपन्देही जिल्ला कमिटी सदस्यसमेत थिइन्। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट सम्बन्ध भएकी नेतृका रूपमा चिनिन्थिन्। सामाजिक सञ्जालमा ओलीलाई ‘बा’ र उनकी धर्मपत्नी राधिका शाक्यलाई ‘आमा’ भनेर सम्बोधन गरेका तस्बिर तथा अभिव्यक्तिहरू सार्वजनिक हुँदै आएका थिए।
ओलीसँगको निकटताकै कारण उनी राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य बनेको दाबी एमालेभित्रै हुँदै आएको थियो। एमालेमा लामो समय सक्रिय राजनीतिमा रहेकी श्रद्धाले पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेपछि उनको राजनीतिक यात्राबारे विभिन्न चर्चा सुरु भएका छन्।
सामाजिक सञ्जालमा फैलिएको एक चर्चाअनुसार उनले ज्योतिषीय सल्लाहपछि पार्टी परिवर्तन गरेको बताइएको छ। केही दिनअघि साथीहरूसँग ज्योतिषकहाँ गएको र त्यहाँबाट ‘जाने सोच बनाएको पार्टीमा निर्धक्क जानुस्’ भन्ने सुझाव पाएपछि उनले एमाले छाड्ने निर्णय गरेको हल्ला व्यापक रूपमा फैलिएको थियो।
रास्वपा स्रोतका अनुसार श्रद्धा कुवँर क्षेत्री काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) निकट टिमको सिफारिसमा समानुपातिक सूचीमा परेकी हुन्।
एमाले नेतृत्वसँग निकट सम्बन्ध रहेकी एक युवा नेतृको रास्वपामा प्रवेश र उम्मेदवारीलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। यसले आगामी निर्वाचनमा रुपन्देहीसहित केन्द्रीय राजनीतिमा नयाँ तरंग ल्याउने संकेत देखिएको छ।




