बुटवल। बुटवलमा सञ्चालित बाआमासँग नगर प्रमुख निशुल्क स्वास्थ उपचार शिविरमा बुधबार वडा नं १० मा ५३ र वडा नं ११ मा ११६ जना जेष्ठ नागरिकहरू लाभान्वित भएका छन् । तराईमा केहीदिनदेखि परेको सितलहरका बाबजुद बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित बाआमासँग नगर प्रमुख निशुल्क स्वास्थ जाँच तथा उपचार शिविरमा सेवाग्राहीहरूकाे उत्तिकै सहभागीता देखिएको छ । माैसमकाे प्रतिकुलताका बाबजुद बुधबार बुटवल उपमहानगरपालिका वडा नं १० र ११ मा सञ्चालित निशुल्क स्वास्थ जाँच तथा उपचार शिविरमा सेवाग्राहीहरूकाे उल्लेखनीय सहभागीता देखिएको हो ।

बुटवल उपमहानगरपालिका वडा नं १० सुख्खानगरमा सञ्चालित शिविरमा ५३ जना र वडा नं ११ मा ११६ जना जेष्ठ नागरिकले सेवा लिएको बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयले जानकारी दिए । बुधबार बिहान बुटवल उपमहानगरपालिका वडा नं १० स्थित कालिकानगरमा सञ्चालित शिविरको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले जेष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवाका लागि अस्पताल धाउन नपरोस् भन्ने उदेश्यले उपमहानगरपालिकाले बा आमासँग नगर प्रमुख स्वास्थ्य जाँच तथा उपचार शिविर सञ्चालन गरिएको जानकारी गराउदै कम्तिमा पनि बर्षकाे दुईपटक यस्तैखाले शिविर सञ्चालन गर्ने योजना रहेको बताए ।

उता बुटवल उपमहानगरपालिका वडा नं ११ काे बुद्वनगर स्थित शहरी स्वास्थ्य सेवा केन्द्रमा सञ्चालित स्वास्थ्य शिविरको शुभारम्भ गर्दै नगर प्रमुख पाण्डेयले चिसाेका कारण शिविरमा आउन नसकेका जेष्ठ नागरिकहरूलाई निशुल्क गाडीको ब्यवस्था गरेर शिविरमा ल्याएर स्वास्थ्य परीक्षण तथा उपचार गर्न र शिविरमा आउन नसक्नेहरूलाई घरमै पुगेर भए पनि स्वास्थ्य सेवा उपलब्ध गराउने ब्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिए । त्यस अवसरमा वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले सितलहरका बाबजुद पनि शिविरमा उल्लेखनीय सहभागीता रहेको जानकारी गराउदै शिविरमा जतिसक्दो धेरै जेष्ठ नागरिकहरूले सेवा लिनसक्नेगरि ब्यवस्थापन गरिएको बताए ।




