इसान शर्मा मृत्यु प्रकरण हत्या होइन : जिल्ला प्रहरी कार्यालय रुपन्देही

by समतल अनलाइन
69Shares

बुटवल । रुपन्देही कञ्चनका इसान शर्माको मृत्यु प्रकरणमा अपवाह फैलिएको भन्दै नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रेस विज्ञप्ति जारी गर्दै हालसम्मको अनुसन्धानबाट उक्त घटना हत्या नभएको स्पष्ट पारेको छ।

प्रहरीका अनुसार लु २ ख ४९४८ नम्बरको फोर्स कम्पनीको गाडीले इसान शर्मालाई ठक्कर दिई चालक फरार भएको थियो। ठक्करपछि घाइते इसानलाई बुटवल उपमहानगरपालिका–२ मैनाबगर क्षेत्रमा लगेर लुकाई छिपाई राखिएको र गाडी मर्मत गरी पुनः सञ्चालन गरिएको प्रहरीले जनाएको छ। सोही गाडी बागलुङ र पाल्पा हुँदै बुटवल आउने क्रममा प्रहरीले बुटवल उपमहानगरपालिका–३ गोलपार्क क्षेत्रबाट सवारी चालकसहित थप दुई जनालाई मिति २०८२/०९/०७ गते नियन्त्रणमा लिएको हो। हाल इलाका प्रहरी कार्यालय सालझण्डीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी विज्ञप्तिमा जनाइएअनुसार इसान शर्मा नालीमा बेहोस अवस्थामा फेला परेका थिए। आफन्तहरूको उपस्थितिमा उनलाई नालीबाट निकालेर लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल लगिएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले इसानको मृत्यु भइसकेको जानकारी गराएका थिए।

प्रहरीले ठक्कर दिने गाडी चालक बागलुङ बरेङ गाउँपालिका–छिसा घर भई हाल रुपन्देही कञ्चन गाउँपालिका–४ थकालीचोक बस्ने सन्तोष क्षेत्रीलाई नियन्त्रणमा लिएको छ। साथै सवारी भगाउन सहयोग गरेको आरोपमा रुपन्देही सैनामैना नगरपालिका–५ बस्ने दिपेन्द्र भण्डारी क्षेत्री र सोही स्थानका सन्देश क्षेत्रीलाई पनि पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले केही अनलाइन मिडिया, युट्युब च्यानल तथा सामाजिक सञ्जालमार्फत सत्य, तथ्य र वास्तविकता नबुझी गलत सूचना सम्प्रेषण गरिएको भन्दै आपत्ति जनाएको छ। प्रहरीले यस्ता भ्रामक सूचनाले अनुसन्धान प्रक्रियामा असर पार्ने उल्लेख गर्दै घटनाको सत्यतथ्य बुझेर मात्र समाचार प्रकाशन गर्न सबै सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

You may also like