बालेन र रविबीच सहमतिको सम्भावना कति छ ?

by समतल अनलाइन
96Shares

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच भएको छलफल अझै निष्कर्षमा पुग्न नसकेको बुझिएको छ । सोमबार र आज विहिबार भएका छलफलमा दुवै एकअर्काप्रति सशंकित नै रहेको पाइएको दुवै निकट नेताहरुले जानकारी दिएका छन् ।

बालेन र लामिछानेबीच मुख्यगरी निर्वाचनपछि सरकारको नेतृत्व कसले गर्ने भन्नेमा कुरा अल्झिएको बताइएको छ । बालेन चुनावपछि आफु प्रधानमन्त्री बन्ने गरि रास्वपासँग सहकार्य गर्न चाहन्छन् । यसका लागि उनले रास्वपामा आफ्नो सम्मानजनक उपस्थिति पनि खोजेका छन् भने उनी पूर्णरुपमा रास्वपामा समाहित पनि भएजस्तो गरेर सहमति गर्न पनि चाहेका छैनन् । बालेनले आफ्नो पछाडी जेनजी युवाहरुको साथ रहेको र कुलमान घिसिङ र हर्क साम्पाङलाई एक ठाउमा ल्याएपछि ठुलो शक्ति बन्ने विश्वास गरेका छन् । यसकै आधारमा उनले रास्वपासँग छलफल अगाडी बढाएका छन् ।

अर्कोतर्फ लामिछाने अघिल्लो निर्वाचनको चौथो ठुलो दल र देशभर बनेको संगठनका आधारमा यतिकै बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार स्वीकार गरेर जाने पक्षमा देखिएका छैनन् । लामिछानेले अन्य विषयमा भागबण्डा गरेर मिलाउन तयार भएपनि प्रधानमन्त्रीको विषयमा बालेनसँग नखुलेको बालेन निकटस्थहरुले बताएका छन् । ‘अहिलेसम्मको छलफलमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कुरामा रविजीमा रिजर्भेसन देखियो, हामी त अगाडी बढ्छौं नै, मिलेर जाउँ भन्ने कुराले छलफल जारी रहेको छ ।’ बालेन निकटस्थले बताए ।

त्यसैगरी बालेनले पछिल्ला केहि दिनदेखि गरिरहेका छलफल र भेटघाटले उनले वैकल्पिक शक्तिको आफुले नेतृत्व गरेर अगाडी जाने पहल गरेको देखिएको छ । उनले यसका लागि जेनजी आन्दोलनका प्रमुख अभियन्ताहरुसँग पनि छलफल गर्दै उनीहरुको साथ मागेका छन् । अहिलेसम्मको घटनाक्रमले कुलमान र बालेन मिल्ने लगभग निश्चितप्राय: भएको बताइएको छ । त्यस्तै बालेनले पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि काँग्रेस नेताहरु चन्द्र भण्डारी, सुनिल कुमार शर्मा, राप्रपा नेता ज्ञानेन्द्र शाही र मधेशका नेता डा. अमरेश कुमार सिंहसँग गरेको छलफलबाट उनले वर्तमान राजनीतिको नाडी छामिरहेको र आफुले बनाउने नयाँ शक्तिको सन्देश दिन खोजेको पनि देखिएको छ ।

विहिबारको सक्रियतापछि बालेन र लामिछानेबीच कहिँ कतैबाट विशेष हस्तक्षेपकारी भूमिका नभएमा एक ठाउमा आउन अझै समय लाग्ने देखिएको छ । लामिछानेसँग सहमति नभएमा बालेन पक्ष अब जेनजी युवाहरुलाई साथमा लिएर कुलमान घिसिङसँग सहकार्य गर्दै आफ्ना शुभचिन्तकहरुले दर्ताको गरेको देश विकास पार्टीबाट चुनावमा जान सक्ने देखिएको छ ।

You may also like

This will close in 0 seconds