कुपण्डोलमा रवि-बालेन ‘वान टु वान’ वार्ता जारी

by समतल अनलाइन
64Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच वान टु वान छलफल सुरु भएको छ।

ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी तथा सल्लाहकार कुमार व्यञ्जनकारको निवासमा दुई नेताबीच छलफल भइरहेको स्रोतले जानकारी दिएको छ। उनीहरू वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे संवादमा जुटेका हुन्।

यसअघि यही स्थानमा बालेन र कांग्रेस नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनील शर्माबीच पनि छलफल भएको थियो। रवि र बालेनबीच यसअघि कमलपोखरीस्थित असिम शाहको म्युजिक कम्पनीमा करिब ६–७ घन्टा लामो भेटवार्ता भएको थियो।

आजको छलफलअघि मेयर बालेनले बिहान ऊर्जा मन्त्री कुलमान घिसिङसँग भेट गरेका थिए। त्यसलगत्तै उनी रवि लामिछानेसँग छलफलमा जुटेका हुन्। दुईबीच सहकार्य गर्ने वा छुट्टाछुट्टै अघि बढ्ने भन्ने विषय आजको भेटबाट टुंगो लाग्ने निकटहरूले बताएका छन्।

बालेन शाहले पछिल्लो समय ‘देश विकास पार्टी’बाटै राजनीति अघि बढाउने संकेत गरेका छन्। बालेन र कुलमान घिसिङ मिलेर उक्त पार्टी अघि बढाउने विषय लगभग टुंगो लागेको उनीहरू निकट स्रोतको दाबी छ।

घिसिङनिकट ‘उज्यालो नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता भए पनि अब दुवै जना देश विकास पार्टीमै आबद्ध भएर अघि बढ्न सहमत भएको बताइएको छ। देश विकास पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको पार्टी हो। यसको अध्यक्ष सन्ध्या खनाल हुन् भने चुनाव चिह्न ‘लौरो’ छ। यही चिह्नबाट २०७९ को स्थानीय तह निर्वाचनमा बालेन काठमाडौं महानगरको मेयर निर्वाचित भएका थिए।

बालेन र कुलमानबीच प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार उठाउने सहमति पनि भएको स्रोतको भनाइ छ। सोहीअनुसार ११० क्षेत्रका उम्मेदवार तय गरेर पुस १३ र १४ गते निर्वाचन आयोगमा सूची बुझाउने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ।

मेयर बालेनले कुलमान घिसिङसँग मात्र होइन, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायतसँग पनि छलफल गरेका छन् । रास्वपाबाहेक अन्य नयाँ दल र स्वतन्त्र व्यक्तिहरूलाई समेटेर देश विकास पार्टीलाई अघि बढाउने तयारी भइरहेको उनीनिकट स्रोतले बताएका छन्।

प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची बुझाउने मिति नजिकिँदै गर्दा बालेनले राजनीतिक गृहकार्य तीव्र बनाएका हुन्। प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गतेभित्र बन्दसूची बुझाउनुपर्ने छ।

You may also like

This will close in 0 seconds