काठमाडौँ।जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माका अनुसार केही सुरक्षा अधिकारी र निजामती कर्मचारीहरूको बयान सकिएपछि ओली र लेखकलाई पत्र पठाइनेछ। पत्रमा कम्तीमा एक साताको समय दिने व्यवस्था गरिने तयारी छ ।
अहिले आयोग काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजालको बयान लिइरहेको छ भने आइजिपी र तत्कालीन एआईजी दानबहादुर कार्कीको बयानको केही भाग बाँकी छ। यी बयान सकेपछि आयोग पत्र तयार गर्नेछ।
लेखकको बयानको लागि पूर्वसूचना दिइएमा उनी कुनै पनि दिन आयोगमा उपस्थित भएर आफ्नो भनाइ राख्न तयार रहेको बताएका छन्।
पूर्वप्रधानमन्त्री ओलीको बयानबारे आयोगका पदाधिकारीहरू नियमित छलफलमा छन् । कसरी म्याद तामेल गर्ने, बयानमा नआए के गर्ने लगायतका विकल्पहरू छलफल भइरहेका छन् । आयोगले आफ्नै कर्मचारी वा प्रहरी परिचालन गरेर ओलीको घरमा पत्र बुझाउने वा घरको भित्तामा टाँस्ने अथवा सञ्चार माध्यममार्फत सूचना प्रकाशन गर्ने विकल्प विचार गरिरहेको छ ।
ओलीले हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा बयान दिन नजाने अवस्था आए गिरफ्तार हुन तयार रहेको प्रतिक्रिया दिएका थिए। उनी आयोगको विश्वसनीयतामा प्रश्न उठाउँदै बयान नदिए पनि गोली ठोक्नु भनी आक्रोश व्यक्त गरेका थिए।
आयोगले बानेश्वरस्थित संसद भवनमा गोली चलाउने सुरक्षाकर्मी, कमाण्डर, बल प्रयोगको लिखित आदेश दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी र गृह सचिवसँग समेत बयान लिइसकेको छ ।
आयोगका पदाधिकारीहरूले संकलित तथ्यका आधारमा प्रधानमन्त्री र गृहमन्त्रीलाई सोधिने प्रश्नहरूको खाका तयार गरिरहेका छन् ।




