काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट नयाँ मूल्य प्राप्त भएपछि निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ४ रुपैयाँले मूल्य वृद्धि गरेको हो । समायोजन गरिएको नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
ढुवानी लागतका आधारमा निगमले देशका विभिन्न भागलाई तीन वर्गमा विभाजन गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएको छ । नयाँ मूल्य अनुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
त्यसैगरी दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १६२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १४१ रुपैयाँ प्रतिलिटर पुगेको छ । तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।


