काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माण मात्र पर्याप्त नभई नागरिकको जीवनस्तर सुधार गर्ने विकास आजको आवश्यकता भएको बताएका छन्।
ललितपुर महानगरको नवनिर्मित भवनको शनिबार आयोजित विशेष समारोहमा उद्घाटन गर्दै उनले प्रभावकारी सेवा प्रवाह र सुशासन कायम गर्न सबै निकाय सचेत हुनुपर्ने बताए। जनताका गुनासा सुनेर सम्बोधन गर्नु हरेक राष्ट्रसेवकको दायित्व हुनेमा उनले जोड दिए।
राष्ट्रपति पौडेलले भने, ‘लोकतन्त्र केबल शासन व्यवस्था मात्र होइन, यो लोकको आवाज सुन्ने र उनीहरूको चाहनाअनुरूप काम गर्ने पद्धति हो। नयाँ पुस्ताको यो चाहना बुझेर राजनीतिक नेतृत्वले त्यसैअनुसार आफूलाई रुपान्तरण गर्नुपर्छ।’
उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै विकासको युगीन अभिभारा पूरा गर्न युवा पुस्ताको अपेक्षा महत्त्वपूर्ण रहेको उल्लेख गरे । साथै देशलाई वर्तमान अवस्थाबाट निकास दिन आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन सफल बनाउन उनले आह्वान गरे ।



