राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको सातौँ साधारणसभा र तेस्रो अधिवेशन शनिबार बुटवलमा

by समतल अनलाइन
60Shares

बुटवल।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन भोलि (शनिबार) बुटवलमा हुने भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने तयारी भएको प्रतिष्ठानका अध्यक्ष दिपु मगरले जानकारी दिए।

अधिवेशनका लागि आवश्यक तयारी पूरा भएको बताउँदै अध्यक्ष मगरले प्रदेशभरिबाट १६५ प्रतिनिधि तथा विभिन्न अतिथिहरुसहित तीन सयभन्दा बढीको उपस्थितिमा उद्घाटन सत्र सम्पन्न गरिने बताए। उनका अनुसार अधिवेशनमा विभिन्न पाँच विधाका सिर्जनशील कलाकारलाई सम्मान गरिनेछ।

अधिवेशनबारे जानकारी दिन शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मगरले सकेसम्म सर्वसहमतिमा नयाँ नेतृत्व चयन गर्ने प्रयास भइरहेकाे उल्लेख गरे। उनले केन्द्रीय नेतृत्वका प्रतिनिधिहरू बुटवल आइरहेको बताउँदै शनिबारको कार्यक्रममा चर्चित कलाकार तथा पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्मा, गायक बद्री पंगेनी, उपाध्यक्ष सुवास केसी, सचिव दिपक गरौजा, सह–सचिव सीता रानासहित अन्य कलाकारको उपस्थित रहने जनाए। कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री सरोज थापाले गर्नेछन्।

सो अवसरमा अध्यक्ष मगरले वर्तमान समितिले करिब तीन वर्षको अवधिमा गरेका गतिविधिबारे पनि जानकारी दिए। उनका अनुसार कलाकारहरूको हितका लागि एक लाख रुपैयाँ बराबरको कलाकार हित कोष स्थापना गरिएको छ। संस्थालाई आर्थिक रूपमा सुदृढ बनाउँदै चार लाखभन्दा बढी कोष सिर्जना गर्न सफल भएको बताइएको छ। साथै विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्नुका साथै रुपन्देहीको तिलोत्तमास्थित लुम्बिनी लोक सङ्ग्रहालयको स्तरोन्नति जस्ता महत्वपूर्ण कार्य सम्पन्न भएको जानकारी दिइएको छ।

You may also like

This will close in 0 seconds