लुम्बिनी लायन्सको शानदार जीत : डीआरसी सर्टको अर्धशतकमा विराटनगर ५ विकेटले पराजित

by समतल अनलाइन
51Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत बुधबार भएको रोमाञ्चक खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई ५ विकेटले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १४५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको लुम्बिनीले १७ ओभर ४ बलमै लक्ष्य पार गर्‍यो।

विराटनगर किङ्सका लागि यो दोस्रो हार हो। यसअघि पाँच खेलमध्ये चितवन राइनोजसँग मात्र पराजित भएको विराटनगरले कर्णाली याक्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सलाई हराएको थियो।

उता, लुम्बिनी लायन्सको यो तेस्रो जित हो। अघिल्ला पाँच खेलमा लुम्बिनीले पोखरा एभेन्जर्स र चितवन राइनोजमाथि जित निकालेको थियो भने सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र कर्णाली याक्ससँग पराजित हुँदै आएको थियो।

बुधबारको जितमा लुम्बिनीका ओपनर डीआरसी सर्ट ‘म्यान अफ द मोमेन्ट’ बने। उत्कृष्ट रूपमा इनिङ संयोजन गरेका सर्टले ४४ बलमा ५७ रन बनाए, जसमा ६ चौका र २ छक्का समावेश थिए। १३ ओभरको दोस्रो बलसम्म क्रिजमा टिकेका उनले टोलीलाई सफल सुरुवात दिलाउँदै जितको आधार तयार पारे।

लक्ष्य पछ्याउने क्रममा सुरुवाती साझेदारी बलियो बनाएपछि लुम्बिनी दबाबमा परेन। बीचबीचमा विकेट गुमाए पनि रनरेट सहज रहेकाले टोलीले निर्धारित लक्ष्य सहजै पूरा गर्‍यो।

यस जितसँगै अंकतालिकामा पनि लुम्बिनीले आफ्नो स्थिति मजबुत बनाएको छ भने विराटनगरकामा दोस्रो हारपछि प्लेअफ यात्रामा अतिरिक्त दबाब सिर्जना भएको छ।

You may also like

This will close in 0 seconds