रुरुक्षेत्र गाउँपालिकाबाट दुई विद्यालयलाई विद्युतीय बस सहयोग

Shares

गुल्मी ।गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले विद्यार्थी संख्या घट्दै गएको पृष्ठभूमिमा विद्यालयमा पहुँच बढाउन दुई सामुदायिक विद्यालयलाई विद्युतीय माइक्रोबस प्रदान गरेको छ। लामो दुरीबाट आउने विद्यार्थीहरूलाई सहज पहुँच सुनिश्चित गर्न गाउँपालिकाले रुरुक्षेत्र–१ स्थित रिडी मावि र वडा नं ४ स्थित ज्ञवा माविलाई एक/एक वटा बस हस्तान्तरण गरेको हो। यससँगै रिडी माविले गाउँपालिकाबाट दोस्रोपटक बस प्राप्त गरेको छ।

गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार ४०/४० लाख रुपैयाँको सहयोगमा बस प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिनुभयो। बस विद्यालयहरूले आफ्नै स्रोत र गाउँपालिकाको बजेट सहयोगमा खरिद गरेका हुन्।

गत दुई वर्षमा पनि रिडी र जनबोध माविहरूलाई बस प्रदान गरिएको थियो। विसं २००७ सालमा स्थापना भएको रिडी माविमा हाल ४४४ जना र ज्ञवा माविमा २७३ जना विद्यार्थी अध्ययनरत छन्।

गाउँपालिका अध्यक्ष यदु ज्ञवालीका अनुसार सामुदायिक विद्यालयलाई साधन–स्रोतसहित गुणस्तरीय बनाउने लक्ष्य अनुरूप बस वितरण गरिएको हो। “विद्यालय टाढा भएकाले कोही पनि विद्यार्थी शिक्षाबाट बञ्चित नहोस् भनेर यस्तो पहल गरिएको हो,” अध्यक्ष ज्ञवालीले बताउनुभयो। उहाँले आगामी वर्षमा पनि थप विद्यालयलाई गाडी उपलब्ध गराउने योजना रहेको जानकारी दिनुभयो।

ज्ञवा माविमा झमादी र ओखलढुंगाबाट करिब दुई घण्टा हिँडेर आउने करिब ३० जना विद्यार्थी छन्। प्रधानाध्यापक नारन ज्ञवालीका अनुसार त्यहाँका विद्यार्थीका लागि ज्ञवा मावि बाहेक अन्य विकल्प छैन। उल्लीखोला क्षेत्रबाट पनि एकदेखि डेढ घण्टाको यात्रा गरेर विद्यार्थी विद्यालय पुग्ने गर्छन्। विगतमा करिब ४०० विद्यार्थी अध्ययन गर्ने गरेको विद्यालयमा हाल विद्यार्थी संख्या घटेर करिब ३०० मा सीमित भएको छ।

विद्यार्थी संख्या जोगाउन र शिक्षामा पहुँच बढाउन स्कूल बस अत्यावश्यक भएको विद्यालय प्रशासनले जनाएको छ।

You may also like

This will close in 0 seconds