बुटवल। कालिकानगरमा स्थानीय युवाहरूको संयुक्त लगानीमा ‘नेपाली जुत्ता घर’ नामको नयाँ जुत्ता बिक्री केन्द्र सुरु भएको छ। बुटवल उपमहानगरपालिका–१२ मा खुलेको यो केन्द्रको मंगलबार नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा नगरप्रमुख पाण्डेयले बुटवलका व्यवसायलाई व्यवस्थित र दीगो बनाउने प्रयास नगरपालिकाले गरिरहेको बताए। उनले व्यवसायीलाई सघाउन सटर तथा घरधनीसँग सहकार्य गर्नुपर्ने बताए। स्वदेशमै बसेर व्यवसाय थालेका युवाको हिम्मत र मेहनतको प्रशंसा गर्दै उनले निरन्तरता दिन सुझाव दिए।
फुटवयर एसोसिएसन नेपालका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले नेपाली जुत्ता उद्योगलाई जोगाउन भन्सार छल्ने कार्य रोक्न आवश्यक रहेको बताए। नेपालमा हरेक वर्ष झन्डै १५ करोड जोर जुत्ता–चप्पल बिक्री हुने गरे पनि त्यसको आधा मात्र नेपाली उत्पादन भएको उनले जानकारी दिए। उनका अनुसार झन्डै २ करोड जोर अवैध रूपमा भित्रिन्छ, जसले स्वदेशी उद्योगमा असर पुर्याइरहेको छ।
कार्यक्रममा तरुण दल नेपाल रुपन्देहीका उपसभापति प्रसन्न कोइरालालगायतले पनि शुभकामना मन्तव्य दिएका थिए।
‘नेपाली जुत्ता घर’ युवा व्यवसायी अभिषेक भूषाल, दामोदर न्यौपाने र अर्जुन खनालको संयुक्त लगानीमा स्थापना गरिएको हो। सञ्चालक भूषालका अनुसार करिब ३ करोड रुपैयाँ लगानी गरिएको छ भने शिखर, रनलगायत सातवटा नेपाली जुत्ता ब्राण्डको बिक्री सुरु भइसकेको छ।