बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले मालबस्तु ढुवानी तथा लोड अनलोडको सहज व्यवस्थापन गर्न आग्रह गर्दै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । संघको टोली राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पुगरे कार्यालय प्रमुख एसपि श्यामबहादुर खत्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
बुटवलको मुख्य सडक निर्माणको क्रममा रहेको र अव्यवस्थित पार्किङका कारणले सामानको ढुवानी तथा लोडिङ अनलोडिङ्मा समस्या भएको बताउँदै मालबस्तुको ढुवानी तथा डोडिङ अनलोडिङमा सहज व्यवस्थापनको माग गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
मालबस्तु ढुवानीका साधन ट्रयाक्टर, छोटाहात्तीबाट हुने लोड, अनलोड डेलिभरीमा ट्राफिक प्रहरीबाट अनाहकमा दुख दिने, चिट काट्ने कार्य भएकाले उक्त कार्य बन्द गर्न आग्रह गरिएको उहाँले बताउनु भयो । ज्ञापन पत्रमा सडक निर्माणको क्रममा रहेको तथा ट्राफिकचोकदेखि माथि सर्भिस लेन पनि नभएको र सडक नियमको पालना गर्दै हुने डेलिभरी लोड अनलोडमा समेत जरिवाना गर्ने साथै पार्किङ्ग गरिराखेका गाडीमा समेत ह्वील लक लगाउने र चिट काट्ने कार्य भएकोले यस प्रकारको कार्य यथासिघ्र बन्द गरी व्यापार सहजिकरण गरिदिन अनुरोध गरिएको छ ।
ज्ञापन पत्र बुझदै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एसपि श्यामबहादुर खत्रीले सकेसम्म व्यवहारिक रुपमा ट्राफिक व्यवस्थापनको काम गरिएको बताउनु भयो । उहाँले सडक निर्माणको काम पुरा नहुँदासम्म व्यवहारिक रुपमा सहजिकरण गर्ने बताउँदै ट्राफिक व्यवस्थापनमा पनि सहज हुनेगरी ढुवानी लोड अनलोडको काम गर्न आग्रह गर्नुभयो ।