काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले जेनजी पुस्तालाई सम्बोधन गर्दै आन्दोलनका क्रममा उठाइएका सुशासनका मुद्दा सम्बोधन हुने बताएका छन्।
गत वर्ष भदौ २३ गते अर्थात् सेप्टेम्बर ८ मा भएको जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ। सरकारले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ घोषणा गरेको छ। सोही अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदासमेत दिएको छ।
जेनजी शहीद दिवसको अवसरमा प्रधानमन्त्री शाहले मंगलबार साँझ जेनजी पुस्तालाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा भनेका छन्, ‘प्रिय जेनजी सुशासन कायम हुने नै छ, शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।’
उनको यो सन्देशमार्फत जेनजी आन्दोलनका क्रममा उठाइएको सुशासनको मागप्रति सरकार प्रतिबद्ध रहेको संकेत गरेका छन्। साथै, आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति उनले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
गत वर्ष भदौ २३ गते संघीय राजधानी काठमाडौँमा जेनजी पुस्ताले विभिन्न माग राख्दै प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो। उक्त घटनापछि आन्दोलन थप उग्र बनेको थियो।
भदौ २३ गते भएको घटनाको विरोधमा भोलिपल्ट अर्थात् भदौ २४ गते मुलुकका विभिन्न स्थानमा प्रदर्शन भएका थिए। दुई दिनसम्म चलेको आन्दोलनका क्रममा स्थिति तनावपूर्ण बनेको थियो।
आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसहित ७६ जनाको मृत्यु भएको थियो। प्रदर्शनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामाथि तोडफोड तथा आगजनीसमेत भएको थियो। विभिन्न स्थानमा भएका आगजनी र तोडफोडका कारण ठूलो मात्रामा भौतिक क्षति पुगेको थियो।
जेनजी आन्दोलनले देशको राजनीतिक तथा सामाजिक क्षेत्रमा समेत ठूलो प्रभाव पारेको थियो। आन्दोलनका क्रममा उठाइएका सुशासन, जवाफदेहिता र राज्य सञ्चालनमा सुधारलगायतका विषय त्यसयता निरन्तर चर्चामा छन्।
आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा सरकारले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’का रूपमा घोषणा गरेको हो। पहिलोपटक मनाइएको शहीद दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।
सरकारले दिवसका अवसरमा सार्वजनिक बिदा दिएर आन्दोलनमा ज्यान गुमाएकाहरूको योगदानलाई स्मरण गरेको छ। विभिन्न स्थानमा श्रद्धाञ्जली तथा दीप प्रज्ज्वलनलगायतका कार्यक्रमसमेत आयोजना भइरहेका छन्।
यसैबीच प्रधानमन्त्री शाहले जेनजी पुस्तालाई छोटो सन्देश दिँदै सुशासन कायम हुने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै जेनजी पुस्ताले उठाएका सुशासनसम्बन्धी अपेक्षा पूरा गर्ने संकेत गरेका छन्।

