हङकङसँग १५ रनले हार्दा पनि समूह विजेता बन्यो नेपाल

by समतल अनलाइन
52Shares

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङ चाइनासँग १५ रनले पराजित भएको छ। प्रतियोगितामा नेपालको यो पहिलो हार हो। यद्यपि, यसअघि लगातार तीन खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाल समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा पुगेको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा मंगलबार भएको खेलमा हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमा अलआउट भयो।

नेपालका लागि इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गर्दै ९० रन बनाए। उनले एक छेउबाट इनिङ्स सम्हाल्दै टोलीलाई जिततर्फ डोर्‍याउने प्रयास गरे पनि अन्य ब्याटरले अपेक्षाअनुसार साथ दिन नसक्दा नेपाल लक्ष्यसम्म पुग्न सकेन।

आसिफ शेखले ४४ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ र गुलशन झाले २० रनको योगदान दिए। तर मध्यक्रम र तल्लोक्रममा नियमित अन्तरालमा विकेट गुम्दा नेपालको लक्ष्य पछ्याउने अभियान कमजोर बन्दै गयो।

हङकङका बलरले निर्णायक समयमा महत्वपूर्ण विकेट निकाल्दै नेपालको दबाब बढाएका थिए। एजाज खानले सर्वाधिक चार विकेट लिए भने कप्तान यासिम मुर्तजाले दुई विकेट हात पारे।

१३३ रनमै ७ विकेट गुमाएको हङकङले बनायो २६१ रन
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङ चाइनाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २६१ रन बनाएको थियो।

नेपालका बलरले सुरुवाती तथा मध्य ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै हङकङलाई लगातार दबाबमा राखेका थिए। ३०.५ ओभरमा १३३ रन जोड्दा हङकङले सात विकेट गुमाइसकेको थियो।

You may also like