१४ वर्षमुनिको टी–२० क्रिकेट कप : गार्गी एकेडेमी र लुम्बिनी वर्ल्ड स्कुल विजयी

by समतल अनलाइन
226Shares

बुटवल । बुटवलको नयाँ रोनापुरमा जारी १४ वर्षमुनिको टी–२० क्रिकेट प्रतियोगिताको दशौँ दिन (सोमबार) गार्गी एकेडेमी र लुम्बिनी वर्ल्ड स्कुलले आ–आफ्नो खेलमा सहज जित हात पारेका छन्।

वेस्टर्न क्रिकेट क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो खेलमा गार्गी एकेडेमीले प्यारामाउन्ट एकेडेमीलाई ९ विकेटले पराजित गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको प्यारामाउन्ट १२.३ ओभरमा जम्मा ४४ रनमै अलआउट भयो। आश्विन भट्टराईले १७ रन बनाए पनि अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। पाँच खेलाडी शून्य रनमै आउट भए। गार्गीका हार्दिक शाहीले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए र म्यान अफ द म्याच घोषित भए। यस्तै, अनमोल पुनले २ विकेट, स्पन्दन गैरे र शिव डर्लामीले १–१ विकेट लिए।

४५ रनको सामान्य लक्ष्य पछ्याएको गार्गीले ५.३ ओभरमा २ विकेट गुमाउँदै जित हासिल गर्‍यो। हार्दिक शाहीले नै सर्वाधिक २९ रन बनाए।

सोमबारकै दोस्रो खेलमा लुम्बिनी वर्ल्ड स्कुलले वेस्टर्न क्रिकेट क्लबलाई ६३ रनले पराजित गर्‍यो। टस जितेर ब्याटिङ थालेको लुम्बिनीले ६ विकेट गुमाएर १३१ रन बनायो। अन्जान जयमल्लाहले ३२, गोकर्ण राज भण्डारीले २१ र अजितेश राजगुप्ताले १६ रन बनाए।

बलिङतर्फ वेस्टर्नका सुजन भण्डारीले २ विकेट लिए भने युनीक नेउपाने, सम्राट कुँवर, प्रशान्त बस्याल र मनन थापाले १–१ विकेट हात पारे।

१३२ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएको वेस्टर्न क्रिकेट क्लब १७.३ ओभरमा जम्मा ६८ रनमै अलआउट भयो। मनन थापाले १८ र सुजन भण्डारीले १४ रन बनाए। लुम्बिनीका शंकर पाठकले उत्कृष्ट प्रदर्शन गर्दै ७ विकेट लिए भने गोकर्ण भण्डारीले ३ विकेट लिए। शंकर पाठक म्यान अफ द म्याच घोषित भए।

प्रतियोगिता वैशाख ६ गतेसम्म चल्नेछ। लिग चरणमा सञ्चालित प्रतियोगितामा १२ टिम सहभागी छन्। विजेता टिमले ४१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २१ हजार रुपैयाँसहितको पुरस्कार प्राप्त गर्नेछ, क्लब अध्यक्ष भुवन पाण्डेले जानकारी दिनुभयो।

Facebook Comments Box

You may also like