बुटवलमा देशकै पहिलो बीटुसी समिट सुरु , सूचना प्रविधि बिना प्रतिस्पर्धा असम्भव: नगर प्रमुख पाण्डेय

Shares

बुटवल।कम्युटर एशोसिएसन अफ नेपाल (क्यान) महासंघ रुपन्देहीको आयोजनामा देशकै पहिलो बीटुसी समिट बुटवलमा सुरु भएको छ। दुई दिनसम्म चल्ने यो सम्मेलनको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले डिजिटल हस्ताक्षरमार्फत गरेका छन्।

बुटवलको सिद्धार्थ कटेजमा आयोजना गरिएको समिटको उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख पाण्डेयले सूचना प्रविधिको युगमा यस प्रविधिको महत्त्व अपरिहार्य भएको बताए। उनले सूचना प्रविधिबाट बञ्चित व्यक्तिहरू प्रतिस्पर्धी समाजमा पछाडि पर्ने र बेरोजगारीको समस्या झेल्नुपर्ने धारणा राखे।

उनले भने, “जहाँ सूचना प्रविधिको अभाव हुन्छ, त्यो क्षेत्र आफैँ पछि पर्छ। त्यसैले, नयाँ प्रविधि अपनाउनु अहिलेको आवश्यकता हो।” उनले बुटवल उपमहानगरपालिकाले डिजिटल प्रविधिको प्रयोग गर्दै घरबाटै सेवा उपलब्ध गराउने प्रणाली विकास गरिरहेको जानकारी गराए। नक्सा पास, सिफारिस, राजस्व संकलन लगायतका सेवाहरूलाई डिजिटल प्रविधिमा रूपान्तरण गरिँदै आएको उनले उल्लेख गरे।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले महिला उद्यमशीलतालाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिइन्। क्यान महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष रञ्जीत कुमार गोदारले डिजिटल नेपाल निर्माणका लागि सहकार्य अपरिहार्य रहेको बताए।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले निजी क्षेत्रको सूचना प्रविधि क्षेत्रमा महत्वपूर्ण योगदान रहेको बताउँदै सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

क्यान महासंघ रुपन्देहीका अध्यक्ष जीवन अधिकारीका अनुसार समिटमा हार्डवेयर, पावर सोलुसन, सफ्टवेयर र अन्य नवीन प्रविधिहरू प्रदर्शन गरिएका छन्। कार्यक्रम संयोजक तथा क्यान रुपन्देहीका उपाध्यक्ष विरबहादुर क्षेत्रीका अनुसार समिटमा करिब ५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ।

समिटमा प्राविधिक क्षेत्रका विद्यार्थी, नीति निर्माण तहका जनप्रतिनिधि, अधिकारी तथा उपभोक्ताहरूको सहभागिता रहनेछ। क्यान रुपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईका अनुसार समिटमा ब्रान्ड लक्षित कार्यक्रम गरिनेछ।

यस समिटमा ब्रान्ड प्रमोसन मात्रै गरिनेछ भने खरिद-बिक्री भने हुनेछैन। साथै, उत्पादक र आयातकर्ताबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ। नेपाल टेलिकमले निःशुल्क सिम वितरण गर्ने तथा सिमकार्डलाई ई-सिममा परिवर्तन गर्ने सुविधा प्रदान गर्नेछ।

You may also like

skip


This will close in 5 seconds