बुटवल । गुल्मी जुनिया चिदिपानी तराइ सम्पर्क समाज रुपन्देहीको १०औं साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। शनिबार तिलोत्तमामा आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका पूर्व मेयर तथा समाजका संरक्षक रुपसिङ थापाले उद्घाटन गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले पहाडबाट बसाइँसराइ गरी तराई आएका जुनिया, चिदिपानीबासीलाई एकताबद्ध गर्दै आपसी सद्भाव र भाइचाराको सम्बन्ध सुदृढ बनाउन समाजले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो। साथै, समाजले विविध सामाजिक कार्यमार्फत आफ्नो प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताउनुभयो।
समाजका अध्यक्ष कृष्णबहादुर थापाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गुल्मी जुनिया चिदिपानीको विकास तथा स्थानीय समुदायको हितका लागि विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो। उहाँले आगामी दिनमा चोरकाटेको रुद्रावती माविमा स्वास्थ्य शिविर सहित अन्य विभिन्न सामाजिक कार्यक्रम आयोजना गर्ने योजना रहेको बताउनुभयो।
कार्यक्रममा संस्थाका सल्लाहकार डा. डी.बी. खत्री, मानव अधिकार शान्ति समाज रुपन्देहीका निवर्तमान अध्यक्ष तथा तिलोत्तमा चिदिपानी समाजका अध्यक्ष कृष्णप्रसाद भट्टराई, संस्थापक अध्यक्ष खड्कबहादुर शाही, सल्लाहकार गुरुप्रसाद भुसाल, आजीवन सदस्य छबबहादुर भण्डारी, शशीधर भण्डारी, भूपति भुसाल लगायतले शुभकामना मन्तव्य दिँदै संस्थाले गर्दै आएको कार्यको प्रशंसा गर्नुभयो।
साधारण सभाको अवसरमा समाजले जेष्ठ नागरिक, आजीवन सदस्य, मानव अधिकार तथा शान्ति समाजको केन्द्रिय समितिका सदस्य कृष्णप्रसाद भट्टराई तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष निर्वाचित मिना ढकाललाई सम्मान समेत गरेको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष सुरेश ढकालको स्वागत मन्तव्य तथा कोषाध्यक्ष ओमप्रकाश भण्डारीले आयव्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव खिम खत्रीले गर्नुभएको थियो।