चितवन। लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार गरेको छ । बिहीबारदेखि भइरहेको वर्षाका कारण शनिबार साँझ नदीको पानीको सतह सतर्कता तहभन्दा माथि पुगेको हो ।
नारायणी बेसिन कार्यालय चितवनको रेकर्डअनुसार शनिबार साँझ ५ बजे नदीको पानीको सतह ८.९३ मिटर पुगेको छ । नारायणीमा ७.३० मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तह मानिन्छ ।
नदीको बहाव निरन्तर बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको कार्यालय प्रमुख सुमित अधिकारीले बताए।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले थप वर्षा भए नारायणी नदीको पानी खतराको तह पार गर्नसक्ने बताए। उनका अनुसार हालसम्म नदी किनारका बस्तीमा पानी पसिसकेको छैन । तर, वर्षा थपिए ठूलो बाढीको जोखिम रहेको उनले बताए।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई तत्काल उद्धारका लागि तयारी अवस्थामा राखिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।
यतिबेला तटीय क्षेत्रमा सूचना प्रवाह गर्ने, स्थानीयवासीलाई सचेत गराउने तथा सम्भावित बाढीको अवस्थामा उद्धारका लागि आवश्यक तयारी भइरहेको छ ।

