बुटवल उपमहानगरपालिकाको आयोजनामा विद्यालय स्तरीय दोश्रो मेयर कप छात्र-छात्रा नकआउट फुटबल प्रतियोगिता हुन लागेको छ।
फागुन ५ गतेदेखि १० गतेसम्म चारपाला खेलमैदान र जबई खेलमैदानमा प्रतियोगिता सञ्चालन हुनेछ।
बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाका अनुसार प्रतियोगितामा छात्र तर्फ २५ तथा छात्रा तर्फ १० विद्यालयको सहभागिता रहनेछ। प्रतियोगिताका विजेताहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। छात्रतर्फ प्रथम हुने टोलीलाई १ लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले ६० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, छात्रातर्फ विजेताले ६० हजार र उपविजेताले ३० हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले सञ्चालन हुन लागेको यो प्रतियोगितालाई सम्पन्न गर्न १८ लाख १५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको संयोजक पियाले पत्रकार सम्मेलनमा जानकारी दिए।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयका अनुसार चालु आर्थिक वर्षमा नगरभित्र ५८ वटा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ। तिलोत्तमा गोल्डकपसहित राष्ट्रिय तथा विद्यालयस्तरका खेलकुद गतिविधिहरूलाई प्रवर्द्धन गर्नका लागि नगरपालिकाले ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
यस्तै, फुटबल खेलको पूर्वाधार सुधार गर्न उपमहानगरपालिकाले एन्फा एकेडेमीको मैदानसहित बुटवलका ८ वटा खेलमैदान स्तरउन्नति गर्न बजेटको व्यवस्था गरेको छ।
२०३३ सालदेखि सुरु भएको तिलोत्तमा गोल्डकपको २३ औं संस्करणका लागि बुटवल उपमहानगरपालिकाले ४० लाख रुपैयाँ बजेटको व्यवस्था गरेको जानकारी समेत गराइएको छ।