बुटवल ।रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सुरु भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यसको जानकारी दिइएको हो।
गत २०८० जेठ २९ गते शिलान्यास भएको स्टेडियम २०८० फागुनमै खेल्न योग्य बनाइएर फागुन २८ गते लिजेण्ड्स कप क्रिकेट प्रतियोगितासहित उद्घाटन गरिएको थियो।
स्टेडियमका निर्देशक विनोद कुँवरका अनुसार अबको एक महिनाभित्र फ्लड लाइट जडान कार्य पूर्ण रूपमा सम्पन्न हुनेछ। यससँगै रात्रीकालीन खेलहरू आयोजना गर्न सकिनेछ।
उनका अनुसार गत वर्षको फागुन यता स्टेडियममा १०० भन्दा बढी खेल सम्पन्न भइसकेका छन्। साथै, नेपालका १९ वर्षमुनिका विश्वकप खेलेका महिला टोली र नेपाल प्रिमियर लिगको टिम लुम्बिनी लायन्सले सोही मैदानमा अभ्यास गरिसकेका छन्।
भारतबाट समेत केही क्लबस्तरीय टिमहरू आएर यहाँ खेलिसकेको जानकारी दिँदै कुँवरले नेट प्राक्टिसका लागि छुट्टै पिच निर्माणको काम अन्तिम चरणमा रहेको बताए।
साथै, मैदानसँगै अन्य भौतिक संरचनाहरूको निर्माण कार्य पनि तीव्र रूपमा अघि बढिरहेको छ। यदि हाल कुनै प्रतियोगिता आयोजना भए, भीआईपी बक्सबाट खेल हेर्न सकिने सुविधा उपलब्ध हुने उनले बताए। प्याराफिट निर्माण कार्यलाई समेत तीव्रता दिने योजना रहेको जानकारी दिइएको छ।