नगेन्द्र केसी
शुद्धोधन। रुपन्देहीको शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसको १०० दिने विशेष राष्ट्रिय अभियान तथा प्रदेश सम्मेलन सोमबार शुद्धोधन–४ स्थित रिद्धीसिद्धी पार्टी प्यालेसको सभा हलमा सम्पन्न भएको छ।
नेपाली कांग्रेस क्षेत्र नं. ३ (ख) का सभापति घनश्याम चालिसेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँडको उपस्थिति रहेको थियो। विशिष्ट अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला केन्द्रीय प्रतिनिधि डा. जीवन रानाले अभियानको उद्देश्य र महत्त्वबारे धारणा राख्नुभएको थियो।
प्रमुख अतिथि बालकृष्ण खाँडले नेपाली कांग्रेस बलियो बने मात्र लोकतन्त्र बलियो हुने बताउँदै पार्टीले जनताको हित र देशमा शान्ति, सुरक्षा, तथा अमनचयनका लागि ठूलो योगदान दिएको स्मरण गराउनुभयो। उहाँले शुद्धोधनको समग्र विकासका लागि कांग्रेसका जनप्रतिनिधिहरूले अहोरात्र खटिरहेको जानकारी दिंदै, जनता “हाम्रो सरकार छ” भनेर अनुभूति गर्ने खालका काम गर्नुपर्नेमा जोड दिनुभयो।
नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. जीवन रानाले पार्टीको सांगठनिक गतिविधि अझ प्रभावकारी बनाउन १०० दिने अभियान महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले पार्टीका सबै तहका गतिविधिलाई चुस्त राख्दै सदस्यता वितरण, नवीकरण, बैठक, सम्मेलन, र कार्यतालिका निर्माणलाई समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल, लुम्बिनी प्रदेश सदस्य हरिधोज मल्ल, क्षेत्रीय सभापति सुनील गुरुङलगायतका नेताहरूले आफ्नो धारणा राख्नुभएको थियो।
कार्यक्रममा क्षेत्र नं. ३ (ख) का कोषाध्यक्ष मनोहर प्रसाद राज भण्डारीले आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन प्रदेश (ख) का सचिव उमाकान्त चापागाईंले गर्नुभएको थियो भने उपसभापति बेदानीधि रिजालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।





