टी–२० विश्वकप छनोट : आज नेपाल र सिंगापुर भिड्दै

by समतल अनलाइन

काठमाडौँ । घरेलु टोली नेपालले आज (सोमबार) सिंगापुरसँग भिड्दै आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सुरुआत गर्दैछ । सन् २०२४ मा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान सुनिश्चित गर्ने लक्ष्यसहित एसियाली क्षेत्रका आठ राष्ट्र सोमबारदेखि नेपालका दुई रंगशालामा प्रतिस्पर्धा गर्दैछन् ।

छनोट प्रतियोगिताको पहिलो दिन आज (सोमबार) चार खेल हुनेछन् । कीर्तिपुर मैदानमा नेपाल र सिंगापुरबीच खेल हुनेछ । उक्त खेल नेपाली समयअनुसार, बिहान ९ बजे सुरु हुनेछ । सोही समयमा मुलपानी क्रिकेट मैदानमा बहराइन र यूएईबीच दोस्रो अर्को खेल हुनेछ ।

यस्तै सोमबार नै कीर्तिपुर मैदानमा मलेसिया र ओमानबीच तेस्रो खेल हुनेछ । त्यो खेल नेपाली समयअनुसार, दिउँसो १ः१५ बजे सुरु हुनेछ । सोही समयमा मुलपानी क्रिकेट मैदानमा हङ्कङ र कुवेतबिच चौथो खेल खेलाइने छ । आगामी टी–२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट दुई वटा राष्ट्र आगामी टी–२० विश्वकपमा छनोट हुनेछन् । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना हुँदैछ ।

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा आयोजना नेपालसहित संयुक्त अरब इमिरेट्स (यूएई), हङ्कङ, ओमान, बहराइन, कुवेत, मलेसिया र सिंगापुरको सहभागिता रहने छ । प्रतियोगिता खेलहरू कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा खेलाइने छ ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजना गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक राष्ट्र नेपाल, मलेसिया, ओमान र सिंगापुर रहेका छन् । समूह ‘बी’ मा भने बहराइन, हङ्कङ, कुवेत र यूएई छन् । प्रारम्भिक चरणमा आफ्नो समूहमा रहेका चार वटै टोलीले एकअर्कासँग एक–एक खेल खेल्ने छन् । त्यसपछि दुवै समूहबाट तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेल कात्तिक १७ गते खेलिने छ । सेमिफाइनल खेलमा सफलता हात पार्दै फाइनलमा पुग्ने दुवै टोली सन् २०२४ मा आयोजना हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् । प्रतियोगिताको फाइनल खेल कात्तिक १९ गते कीर्तिपुर क्रिकेट मैदानमा खेलाइने छ ।
यस्तो छ नेपाली टोली
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।

Shares

You may also like

skip


This will close in 5 seconds