म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता

by समतल अनलाइन
25Shares

म्याग्दी । म्याग्दीमा असोज ८ गतेदेखि लगातार परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय बेनीका अनुसार स्थानीयवासी र प्रहरीको सहयोगमा पहिरोमा पुरिएका ६ जनाको शव फेला पारिएको हो।

मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका १९ वर्षीय सविन गर्बुजा, अन्नपूर्ण गाउँपालिका–३ फगामकी ५४ वर्षीया योमाया पाइजा, मालिका गाउँपालिका–३ डाँडागाउँका ३१ वर्षीय चिरण पुन र सोही स्थानका २८ वर्षीय देवबहादुर पुन रहेका छन्।

त्यस्तै, अन्नपूर्ण गाउँपालिका–६ गिवाङकी ५ वर्षीया जेनी पुर्जा र अन्नपूर्ण गाउँपालिका–३ फगामकी शिल कुमारी गर्बुजाको पनि पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा परी अन्नपूर्ण गाउँपालिका–६ गिवाङका ७५ वर्षीय ओमबहादुर तिलिजा, अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका मनोज गर्बुजा र बेनी नगरपालिका–३ भकिम्ली छेपारेकी कुमारी विक बेपत्ता रहेको प्रहरीले जनाएको छ।

वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो गएपछि प्रहरीले थप खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। साथै, प्रभावित क्षेत्रमा राहत वितरणको कामसमेत भइरहेको प्रहरीले जनाएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत ७८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

यसैबीच, पहिरोका कारण बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्डका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यातायात आवागमन पूर्ण रूपमा प्रभावित भएको छ। अवरुद्ध सडक खुलाउन आवश्यक प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

You may also like