गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड आज राति बन्द हुने

by समतल अनलाइन
122Shares

अर्घाखाँची । अविरल वर्षाका कारण सडकमा पहिरो खस्ने, ढुंगा झर्ने, रुख ढल्ने तथा सडक भासिन सक्ने जोखिम बढेपछि अर्घाखाँचीमा आज साँझदेखि १२ घण्टाका लागि सवारी आवागमन बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आज असोज ११ गते साँझ ६ बजेदेखि असोज १२ गते बिहान ६ बजेसम्म अति आवश्यक तथा विपद् उद्धार प्रयोजनबाहेक निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन नगर्न आग्रह गरेको छ ।

गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै पहिरो पन्छाउने काम भइरहेको छ। अत्यधिक वर्षाका कारण जमिन कमजोर भएकाले जुनसुकै समयमा पहिरो, ढुंगा खस्ने, रुख ढल्ने तथा सडक भासिने जोखिम रहेको प्रशासनले जनाएको छ ।

अत्यावश्यक अवस्थामा भने प्रहरी प्रशासनको अनुमति लिएर मात्र सवारी सञ्चालन गर्न आग्रह गरिएको छ। जिल्लाका अधिकांश ग्रामीण सडकसमेत पहिरोका कारण अवरुद्ध रहेकाले अत्यावश्यक कामबाहेक सवारी साधन सञ्चालन नगर्न प्रशासनले अनुरोध गरेको छ ।

You may also like

This will close in 0 seconds