बागलुङमा पहिरोबाट १० जनाको मृत्यु, एक बेपत्ता

by समतल अनलाइन
126Shares

बागलुङ । अविरल वर्षापछि आएको पहिरोका कारण बागलुङमा ठूलो मानवीय क्षति भएको छ। पछिल्लो दुई दिनमा पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आइतबार मात्रै पहिरोमा परी नौ जनाको मृत्यु भएको हो। यसअघि शनिबार ताराखोला गाउँपालिकामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको थियो।

आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। तमानखोला गाउँपालिका–३ धर्नासुकमा पहिरोले घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही क्षेत्रमा पहिरोले आठ वटा घरसमेत बगाएको छ।

त्यस्तै, तमानखोला गाउँपालिका–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ। घटनामा हस्तवीरकी श्रीमती पहिरोमा परी बेपत्ता भएकी छन्।

निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका १३ वर्षीय छोरा मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान विक रहेका छन्।

त्यसैगरी, निसीखोला गाउँपालिका–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ।

यसअघि शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो।

बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार पूर्वसूचना र समयमै गरिएको सतर्कताका कारण सम्भावित थप मानवीय क्षति रोक्न सकिएको छ।

पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ। बेपत्ता व्यक्तिको खोजी तथा प्रभावितको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम अझै कायमै रहेकाले प्रभावित तथा जोखिमयुक्त बस्तीमा सुरक्षा सतर्कता बढाइएको छ।

You may also like

This will close in 0 seconds