गृह जिल्लाबाट ओलीको कटाक्ष : माधवले वडा सदस्य जित्दैनन्, प्रचण्ड ‘छट्टु नेता’

by समतल अनलाइन
300Shares

झापा। प्रधानमन्त्रीबाट हटेपछि पहिलोपल्ट गृह जिल्ला झापा पुगेका प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति खनिएका छन् ।

झापाको बिर्तामोडमा आज (मंगलबार) भएको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वडा सदस्यको चुनाव पनि जित्न नसक्न बताए । उनले जनादेश विपरीत पार्टी फुटाउँदै हिंड्ने नेता नेपाललाई भोट दिन नहुने पनि बताए ।

‘माधव नेपालले वडाअध्यक्षको कुरा छाडौं, वडा सदस्यको चुनाव पनि जित्न सक्दैनन्’, उनले भने, ‘माधव नेपाललाई जनताले किन भोट हाल्ने ? केका लागि हाल्ने, एमाले फुटाएकाले ? एमाले चोइट्याएकाले ? के कारण जनताले नेपालाई भोट दिने ?’

अध्यक्ष ओलीले माधव जस्तै हैसियत प्रचण्डको पनि रहेको टिप्पणी गरेका छन् । ‘प्रचण्डले वडामा पनि जित्न हम्मे पर्ने भनेछन्, मलाई खुशी लागेको छ’, उनले भने, ‘प्रचण्डजीले चुनाव पहिले नै कुरा बुझ्नु भएछ । यो सुनेर खुशी लागेको छ ।’ ओलीले माधव नेपाल प्रतिक्रियावादी भएको आरोप लगाए । नेपालले एमाले कमजोर बनाउन लागेको ओलीको आरोप थियो ।

‘माधव नेपाल पार्टी बनाउन चाहँदैनन् । नभए त यत्रो ठूलो पार्टीबाट चोइटिएर जाँदैन थिए,’ उनले भने, ‘पिलो निचोरेर तौल घट्दैन । माधव नेपाल चोइटिएर एमाले सानो हुँदैन ।’ प्रचण्डले एमालेबाट एक चोइटो मात्रै लगेर जान सकेको ओलीले बताए । ‘प्रचण्डले एउटा चोइटो लगेर गएका माओवादी केन्द्रको नाममा माधव गुट मात्रै हो’, उनले भने, ‘माओवादी केन्द्र होइन । प्रचण्डको मोहजालमा नपर्नुस् । फर्किनुस् ।’ ओलीले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ माथि आक्रोश पोखेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै प्रचण्डलाई धोकेबाज र छट्टु नेताको आरोप लगाए ।
’प्रचण्ड असल बाउ, काका, असल ससुरो हुन् । राम्रो सम्धी हुन्, राम्रो ससुरा हुन्, राम्रो ज्वाइँ हुन् तर धोकेबाज नेता हुन्’, उनले भने, ‘प्रचण्ड सबै हिसाबले राम्रो तर एउटै मात्र खराबी छट्टु नेता हुन् । कार्यकर्तालाई झुक्याएर, छक्याएर आफ्नो राजनीतिक दुनो सोझ्याउने मात्रै हुन् ।’

आफ्नै कार्यकर्ताको हत्याकाण्ड मच्चाउने उपेन्द्र यादवसँग प्रचण्डले गठबन्धन गरेर लेनदेनको राजनीति गरेको ओलीले आरोप लगाए । ‘प्रचण्ड यस्तो तान्त्रिक, मायावी मान्छे हो । जादुगरले जस्तो यस्तरी मान्छे भुल्याउने अलमल्याउने गर्छन् । मान्छेलाई हो कि जस्तो पारेर भुल्याउँछन्’, उनले भने, ‘०६४ मा सरकार बनाएर के गरे ? सहिद फालिएका छन् । गौरमा २४ जना मारिएका छन् । तिनैसँग सौदाबाजी गरिरहेका छन् । कार्यकर्ता मारिरहेका छन् । लेनदेनको राजनीति गरिरहेका छन् ।’ जनाधार गुमाइसकेर अझै प्रचण्डले धम्क्याउने गरेको ओलीले बताए । ‘धम्क्याउनु पर्‍यो भने म आगो हुँ नजिक्याऊ भन्ने । मैले पनि दुई बाल्टी पानी हाल्दिउँला भने’, उनले भने, ‘केको आँटले धम्क्याउन खोजेको हो ?’

 

You may also like

This will close in 0 seconds