काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा अघि बढाउन सरकार अहोरात्र खटिइरहेको बताएका छन् ।
बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना सन्देश जारी गर्दै उनले आर्थिक कारणले दसैँ कसैका लागि बोझ बन्न नहुनेमा सरकार सचेत रहेको उल्लेख गरेका छन् ।
विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने पर्वका रूपमा दसैँ स्थापित रहेको बताउँदै उनले यस अवसरमा पारिवारिक आत्मीयता, सहकार्य र सामाजिक सद्भाव अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
अघिल्ला वर्षहरूमा विनाशकारी भूकम्प, महामारी र राजनीतिक तनावका बीच पनि नेपालीहरूले आफ्नो परम्परा जोगाएको स्मरण गर्दै प्रधानमन्त्री शाहले यस वर्ष रसुवा, नुवाकोट र गोरखा लगायतका क्षेत्रमा भएका प्रलयकारी विनाशको शोकबीच दसैँ आएको बताएका छन् ।
प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले प्रभावित तथा विस्थापित नागरिकहरूको पुनःस्थापनाका लागि सरकारले तदारुकताका साथ काम गरिरहेको जानकारी दिएका छन् ।
रोजगारीका लागि बाध्यतावश वैदेशिक रोजगारीमा जानुपर्ने र चाडपर्वमा समेत घर फर्कन नपाउने लाखौँ नेपालीको नियति बदल्न सबैको हातेमालो आवश्यक रहेको उनको भनाइ छ ।
“रित्तिँदै गएका गाउँघर र परदेशमा रित्तो निधार लिएर बस्नुपर्ने नेपालीहरूको नियति बदल्न हामी सबैको हातेमालोबाट सम्भव छ,” उनले सन्देशमा भनेका छन्, “सरकार देशको समृद्धि र आम नागरिकको सुखद जीविकाप्रति प्रतिबद्ध छ ।”
दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी विजयको प्रतीकका रूपमा लिइने उल्लेख गर्दै प्रधानमन्त्री शाहले मानिसभित्र रहेका काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारजस्ता विकृतिमाथि विजय प्राप्त गर्न माता दुर्गा भवानीले सबैलाई सत्प्रेरणा प्रदान गरून् भन्ने कामना गरेका छन् ।


