बाजुरामा जिप दुर्घटना: दुई जनाको मृत्यु, चालकसहित सात जना घाइते

by समतल अनलाइन
51Shares

काठमाडौँ । बाजुराको हिमाली गाउँपालिका–५ स्थित क्युडीको कुवाडी-क्युडी भित्री कच्ची सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन् ।

धुलाचौरबाट दुधिला खोला तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप हिमाली गाउँपालिका–२ नातीखोलाका करिब २५ वर्षीय जनवीर बुढाले चलाएका थिए ।

दुर्घटनामा हिमाली गाउँपालिका–२ का ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ का करिब ४० वर्षीय अम्मर सिंह बुढाको उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते चालक जनवीर बुढासहित मिजरा बुढा, अस्मिता थापा, जंग सिंह बुढा, गोरख रोकाया, लोकेन्द्र बुढा र नौ वर्षीया सुस्मा बुढाको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार अधिकांश घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

You may also like