काठमाडौँ । अमेरिकी कन्टेन्ट क्रिएटर एलिक्स अर्लेलाई टाइम पत्रिकाले सन् २०२६ का विश्वका १०० प्रभावशाली डिजिटल कन्टेन्ट क्रिएटरको सूचीमा पहिलो स्थानमा राखेको छ । उनको जीवनमा आधारित वास्तविक घटनामूलक सिरिज पनि नेटफ्लिक्सले निर्माण गर्ने भएको छ ।
२५ वर्षीया अर्लेका टिकटकमा करिब ८५ लाख फलोर रहेका छन् । उनले आफ्नो दैनिक जीवनका अनुभव र व्यक्तिगत विषयवस्तु साझा गर्दै सामाजिक सञ्जाललाई सफल व्यवसायमा रूपान्तरण गरेकी छन् । हालै उनले आफ्नै उत्पादन पनि सार्वजनिक गरेकी छन् ।
अर्लेका अनुसार धेरै मानिसले उनको सफलतालाई सहज रूपमा प्राप्त भएको ठान्ने गरेका छन् । कतिपयले उनी अरूको व्यवसायको प्रचार गर्ने अनुहार मात्र भएको धारणा राखे पनि आफू आफ्नै निर्णयमा अघि बढ्ने उद्यमी भएको उनको भनाइ छ ।
उनले आफूलाई धेरैले कम आँक्ने वा आफूलाई गम्भीर रूपमा नलिने गरेको बताएकी छन् । सामाजिक सञ्जालमा आत्मविश्वासी देखिने उनी वास्तविक जीवनमा भने निकै शान्त स्वभावकी रहेको बताइन्छ ।
एक समय उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थकका रूपमा पनि हेरिएको थियो । तर अर्लेले कलेज अध्ययनका बेला आफ्ना विचार फरक रहे पनि अहिले आफू ट्रम्प समर्थक नभएको स्पष्ट पारेकी छन् ।
अर्लेको लोकप्रियताको मुख्य कारण उनको स्पष्टता र खुलापन मानिन्छ । उनले आफ्नो जीवनलाई सधैँ पूर्ण र आकर्षक देखाउने प्रयास नगरी पारिवारिक समस्या, प्रेम सम्बन्ध, मानसिक उतारचढाव तथा अनुहारमा आएका डाबरजस्ता व्यक्तिगत अनुभवसमेत खुला रूपमा सामाजिक सञ्जालमा साझा गर्दै आएकी छन् । यही कारण उनका अनुयायी उनीसँग अझ नजिकिएको मानिन्छ ।
उनको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै नेटफ्लिक्सले ‘अर्ले मिट्स वर्ल्ड’ नामक वास्तविक घटनामा आधारित सिरिज निर्माण गरिरहेको छ ।
मियामी विश्वविद्यालयबाट बजार व्यवस्थापन विषयमा अध्ययन गरेकी अर्ले दुई पटक हार्भर्ड विश्वविद्यालयमा पनि वक्ताका रूपमा सहभागी भइसकेकी छन् । उनले अमेजन, कार्ल्स जुनियर र प्रिबायोटिक पेय पदार्थ कम्पनी पोपीलगायतका चर्चित ब्रान्डसँग पनि सहकार्य गरेकी छन् ।
न्यु जर्सीमा हुर्किएकी अर्लेले कलेज अध्ययनकै क्रममा टिकटकमा नृत्य, किनमेल र दैनिक जीवनसँग सम्बन्धित सामग्री प्रकाशित गर्न थालेकी थिइन् । सुरुआती चरणमा खास सफलता नपाए पनि सन् २०२२ मा अनुहारका डाबर र श्रृङ्गारबिनाका तस्बिर सार्वजनिक गरेपछि उनको सामग्री भाइरल बनेको थियो । त्यसयता उनको इमानदार प्रस्तुति नै लोकप्रियताको मुख्य आधार बनेको छ ।

