बुटवल। लुम्बिनीका निर्माण व्यवसायीहरूले निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै पेशाको सुरक्षा, निर्माण सामग्रीको मूल्यवृद्धिअनुसार लागत समायोजन, योजनाको म्याद थप तथा सम्पन्न योजनाको भुक्तानी तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। लुम्बिनी निर्माण व्यवसायी संघ ले बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै निर्माण सामग्री, इन्धन र श्रम खर्चमा भएको निरन्तर मूल्यवृद्धिका कारण व्यवसाय सञ्चालन गर्न कठिन भएको जनाएको हो।
व्यवसायीहरूले समयमै भुक्तानी नपाउँदा आर्थिक संकट झेल्नुपरेको, बैंक तथा वित्तीय संस्थाप्रतिको दायित्व पूरा गर्न समेत समस्या भएको बताएका छन्। कार्यक्रममा संघका सल्लाहकार जबिन कक्षपति ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल ले निर्माण व्यवसायीप्रति दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसले व्यवसायीहरूमा असुरक्षाको भावना बढाएको बताए।

उनले भारत र चीनलगायत अन्य मुलुकमा मूल्यवृद्धिको असर सम्बोधन गर्न राहत तथा मूल्य समायोजनका व्यवस्था गरिएको उदाहरण दिँदै नेपालमा भने त्यस्तो नीति नआएको गुनासो गरे। बुटवलको राजमार्गदेखि गोलपार्कसम्मको सडक निर्माणमा ढिलाइ हुनुका कारणबारे बोल्दै उनले अघिल्लो ठेकेदारसँगको ठेक्का रद्द गर्दा ११ करोड रुपैयाँभन्दा बढी जरिवाना तिर्नुपरेको र हालसम्म स्थानीय तहबाट आवश्यक सहजीकरण नभएको बताए।
निर्माण व्यवसायीहरूले नदीजन्य पदार्थको अभावलाई पनि प्रमुख समस्या बताएका छन्। उनीहरूका अनुसार पालिकाहरूले राष्ट्रिय गौरवका आयोजनालाई मात्रै नदीजन्य पदार्थ उपलब्ध गराउने निर्णय गर्दा संघीय, प्रदेश तथा स्थानीय तहका अन्य योजनाहरू प्रभावित भएका छन्। सडक निर्माणमा करिब १८–२० करोड रुपैयाँ बराबरको काम सम्पन्न भए पनि १२ करोड रुपैयाँभन्दा बढी भुक्तानी अझै नपाएको उनीहरूको दाबी छ।
संघका जिल्ला अध्यक्ष रमेश बेल्बासे ले व्यवसायीका माग तत्काल सम्बोधन नभए निर्माण कार्य ठप्प पार्न बाध्य हुने चेतावनी दिए। उनले कच्चा पदार्थ र दक्ष जनशक्तिको अभावले समेत निर्माण क्षेत्र थप समस्यामा परेको बताए।
कार्यक्रममा रवि सिंह ले सार्वजनिक खरिद ऐन तथा नीतिगत जटिलताका कारण निर्माण क्षेत्र मात्र नभई समग्र उद्योग व्यवसाय प्रभावित भएको बताए। संघका सचिव राजन ज्ञवाली ले लुम्बिनी प्रदेशमा हाल ४०–५० अर्ब रुपैयाँ बराबरका ठूला आयोजना सञ्चालनमा रहे पनि नदीजन्य पदार्थको अभाव र मूल्यवृद्धिका कारण ती आयोजना समयमै सम्पन्न हुने अवस्था नरहेको बताए।


