बुटवल। नेपाली क्रिकेटका पूर्व अन्तर्राष्ट्रिय खेलाडी शक्ति गौचनले रूपन्देही क्रिकेट सङ्घको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। भैरहवामा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले आगामी जेठ २५ गते हुने सङ्घको निर्वाचनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्। कार्यक्रम लुम्बिनी खुकुरी क्लब, बेलहियाको आयोजनामा सम्पन्न भएको थियो।
उम्मेदवारी घोषणा गर्दै गौचनले जिल्लाको क्रिकेट विकासलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित नेतृत्वमा आउन चाहेको बताए। उनले खेलाडी र क्रिकेटसँग सम्बन्धित सरोकारवालाले भोगिरहेका समस्याको समाधान गर्दै दीर्घकालीन विकासको आधार तयार पार्ने आफ्नो लक्ष्य रहेको उल्लेख गरे।
करिब दुई दशकभन्दा बढी समयदेखि क्रिकेट क्षेत्रमा सक्रिय रहेका गौचनले खेलाडीका रूपमा लामो अनुभव बटुलेका छन्। उनले आफ्नो अनुभव र क्रिकेटप्रतिको प्रतिबद्धतालाई जिल्लाको क्रिकेट विकासमा उपयोग गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार रूपन्देही कुनै समय देशका उत्कृष्ट क्रिकेट खेलाडी उत्पादन गर्ने जिल्लामध्ये अग्रस्थानमा थियो, तर पछिल्ला वर्षहरूमा त्यो पहिचान केही कमजोर बन्दै गएको छ।
गौचनले नियमित क्रिकेट प्रतियोगिता सञ्चालन, प्रतिभावान खेलाडी उत्पादनका लागि आवश्यक वातावरण सिर्जना तथा क्रिकेट मैदान र अन्य भौतिक पूर्वाधारको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। निर्वाचित भएमा परिणाममुखी काममार्फत क्रिकेट क्षेत्रलाई सुदृढ बनाउने उनको भनाइ थियो।
कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवार संजीवकुमार जोशीले क्रिकेट र पर्यटनलाई एकसाथ प्रवर्द्धन गर्न सकिए जिल्लाको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने धारणा राखे।
पत्रकार सम्मेलनमा लुम्बिनी खुकुरी क्लबका अध्यक्ष महेश थापा, पूर्वअध्यक्ष रामबहादुर बस्नेतलगायत वक्ताहरूले शक्ति गौचनको नेतृत्वले रूपन्देही क्रिकेटले सामना गरिरहेका चुनौती समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
यसअघि वर्तमान अध्यक्ष हरिबहादुर थापाले पनि अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्। यससँगै रूपन्देही क्रिकेट सङ्घको आगामी निर्वाचनमा अध्यक्ष पदको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।


