बुटवल मा दोस्रो खुला डोरी तान प्रतियोगिता जेठ १५–१६ मा हुने

by समतल अनलाइन
37Shares

बुटवल। नेपाल खेलकुद महासंघ रुपन्देही को आयोजनामा बुटवलमा दोस्रो संस्करणको जिल्ला स्तरीय खुला पुरुष डोरी तान (टग अफ वार) प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता आगामी जेठ १५ र १६ गते बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित रामनगर खेल मैदान मा सञ्चालन हुनेछ।

आयोजकका अनुसार लोप हुँदै गएको परम्परागत खेलको संरक्षण, प्रवर्द्धन तथा खेलाडीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

महासंघ रुपन्देहीका अध्यक्ष समुन्द्र श्रेष्ठ का अनुसार प्रतियोगितामा विजेताले नगद रु. ६० हजार ६६६, उपविजेताले रु. ३० हजार ३३३ र तृतीय हुने टोलीले रु. १५ हजार १११ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगितामा रुपन्देही जिल्लाभित्रका क्लब, संघ–संस्था तथा समूहहरूले सहभागिता जनाउन सक्नेछन्। आयोजक संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सरोज क्षेत्री ले प्रत्येक टोलीमा ८ जना खेलाडी, १ जना रिभर्स प्लेयर, १ जना प्रशिक्षक र १ जना टिम म्यानेजर गरी कुल ११ जना सहभागी हुन पाउने जानकारी दिएका छन्।

यसैगरी, एक टोलीको कुल तौल ६४० केजीभित्र हुनुपर्ने नियम राखिएको छ। खेलाडीहरूले आफ्नो पालिका खुल्ने विवरणसहित मैदानमा उपस्थित हुनुपर्नेछ भने दर्ता शुल्क रु. २ हजार तोकिएको छ।

महासंघका सदस्य इप्पल भण्डारी का अनुसार प्रतियोगितामा १६ भन्दा बढी टोलीको सहभागिता रहने अनुमान गरिएको छ। गत वर्षको संस्करणमा तिलोत्तमा फिटनेश सेन्टर विजेता बनेको थियो।

You may also like