अमेरिकाविरुद्ध नेपालको सानदार जित

शीर्ष स्थानको अमेरिका १२२ रनले नेपालसँग स्तब्ध

by समतल अनलाइन
40Shares

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिकोणीय शृङ्खलाको अन्तिम खेलमा नेपालले सानदार जित दर्ता गरेको छ । ब्याटरद्वय इशान पाण्डे र दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अर्धशतक तथा बलरहरूको घातक प्रदर्शनको मद्दतले नेपालले लिग तालिकाको शीर्ष स्थानमा रहेको अमेरिकालाई १२२ रनको विशाल अन्तरले स्तब्ध पारेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१८ रनको बलियो योगफल खडा गरेको थियो । ३१९ रनको कठिन लक्ष्य पछ्याएको अमेरिकी टोली नेपाली बलरहरूको धारिलो आक्रमणका सामु टिक्न सकेन र ४१.२ ओभरमा मात्र १९५ रनमा अलआउट हुन पुग्यो ।

यो जितसँगै नेपालले घरेलु मैदानमा खेलिएका ४ मध्ये ३ खेल आफ्नो पक्षमा पार्दै शृङ्खलाको सुखद अन्त्य गरेको छ । यसअघि नेपालले युएई र ओमान सम्मिलित शृङ्खलामा पनि ४ मध्ये ३ खेल जितेको थाहा नै छ । हालसम्म २८ खेल खेलिसकेको अमेरिका ३८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा सुरक्षित छ भने समान खेलबाट २४ अङ्क जोडेको नेपाल पाँचौँ स्थानमा उक्लिएको छ ।

ब्याटिङमा चम्किए इशान र दीपेन्द्र

पहिले ब्याटिङ गरेको नेपालका लागि तेस्रो नम्बरमा आएका इशान पाण्डेले सर्वाधिक ८४ रनको उत्कृष्ट पालो खेले । उनले ८३ बलको सामना गर्दै ८ चौका र १ छक्का प्रहार गरे । भर्खरै मात्र एकदिवसीय क्रिकेटमा डेब्यु गरेका इशानको यो लगातार दोस्रो अर्धशतक हो ।

मध्यक्रमका ब्याटर दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै मात्र ३६ बलमा समान ४ चौका र ४ छक्काको मद्दतले ५९ रनको इनिङ्स खेले । खेलका क्रममा इशान र कप्तान रोहितकुमार पौडेलबीच तेस्रो विकेटका लागि ११० रनको शतकीय साझेदारी भएको थियो । रोहितले ५९ बलमा ४६ रनको योगदान दिए । त्यसअघि ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले ६९ रन जोड्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । आसिफले ४३ र कुशलले २९ रन बनाए । अमेरिकाका लागि शुभम रञ्जनेले सर्वाधिक ३ विकेट लिए ।

सन्दीप र ललितको कसिलो बलिङ

३१९ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५६ रनको अर्धशतकीय पालो खेले पनि अन्य ब्याटर चल्न सकेनन् । सायन जहाङ्गीरले २७ र शेहान जयसूर्याले २६ रन जोडे ।

अमेरिकालाई सस्तैमा समेट्ने क्रममा नेपालका स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । त्यस्तै गुल्शन झा, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले समान २-२ विकेट हात पारे भने सोमपाल कामीले १ विकेट लिए ।

You may also like