लुम्बिनी प्रादेशिक अस्पतालमा अपरेशन थिएटर थपिएपछि पित्तथैली अपरेशनमा विशेष प्राथमिकता

by समतल अनलाइन

बुटवल। लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ अपरेशन थिएटर थपिएपछि पित्तथैलीको पत्थरी समस्याको लेजर अपरेशनलाई विशेष प्राथमिकता दिइएको छ। लामो समयसम्म पालो पर्खनुपर्ने समस्या समाधान गर्न अस्पतालले नयाँ रणनीति अवलम्बन गरेको छ।

सर्जन विभाग प्रमुख डा. भुवन पौडेलका अनुसार लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित सेवा विस्तार कार्यक्रम अन्तर्गत प्रसूति सेवाका लागि छुट्टै अपरेशन थिएटरको व्यवस्थापन गरिएको छ। यसले पुरानो थिएटरलाई अन्य शल्यक्रियाका लागि प्रयोग गर्न सक्ने बनाएको छ।

थिएटर थपिएसँगै सातामा ४ वटा पित्तथैली अपरेशन हुने गरेकोमा अब यो संख्या ६ सम्म पुगेको छ। विशेष गरी पित्तथैलीमा पत्थरी देखिने समस्याको समाधानका लागि अपरेशनमा जोड दिइएको छ। सामाजिक सेवा कार्यक्रम र स्वास्थ्य बिमा योजनाका कारण बिरामीको चाप पनि वृद्धि भएको छ।

डा. पौडेलले भने, “पित्तथैलीमा पत्थरी देखिने समस्या सामान्यजस्तै भएको छ, तर बिरामीले तुरुन्तै लेजर अपरेशन गर्नुपर्ने सोच राख्ने भएकाले पालो व्यवस्थापनमा चुनौती छ।”

हाल अस्पतालमा ५ जना सर्जन चिकित्सक कार्यरत छन्। थप एक सर्जनको आवश्यकता रहेको डा. पौडेलले बताए। सीमित जनशक्तिका कारण सर्जिकल र ओपीडी सेवा सम्हाल्न दबाब रहेको उनले जनाए।
“प्रत्येक दिन २-३ वटा अपरेशन मात्र सम्भव छ, केही जटिल केसमा ३-४ घण्टासम्म लाग्ने भएकाले पालो व्यवस्थापन गर्नुपर्छ,” उनले भने।

अस्पतालले प्लास्टिक सर्जरी, स्तन शल्यक्रिया (ब्रेष्ट सर्जरी) लगायतका सेवामा पनि विशेषज्ञता थप गरेको छ। सेवा विस्तारका लागि अस्पताल प्रशासन र विकास समितिसँग समन्वय भइरहेको र आगामी दिनमा अपरेशन दर अझै बढाउने तयारी भइरहेको डा. पौडेलले जानकारी दिए।

थिएटर थप र सेवा विस्तारले बिरामीलाई समयमै उपचार सुविधा उपलब्ध गराउने प्रयासलाई सफल बनाउँदै लैजाने अपेक्षा गरिएको छ।

 
 
  
 

You may also like