सडक पूर्वाधार सुधारमा लगानी वृद्धि अपरिहार्य: मेयर खाँण

by समतल अनलाइन

तिलोत्तमा – तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले सडक पूर्वाधारमा लगानी वृद्धि गर्दै सुरक्षित र भरपर्दो यातायात प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। आइतबार तिलोत्तमामा आयोजित पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को पाँचौं तथा पश्चिम नेपाल बस व्यवसायी बहुउद्देश्यीय सहकारीको चौथो वार्षिक साधारणसभामा बोल्दै उनले हालका निर्माणाधीन सडक परियोजनामा देखिएको ढिलासुस्तीले जनताले भोग्नुपरेको समस्याबारे गम्भीर बन्न आग्रह गरे।

मेयर खाँणले विशेष रूपमा बुटवल–नारायणगढ सडक विस्तारको काम वर्षौसम्म अलपत्र हुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको उल्लेख गरे। उनले बुटवल–चन्द्रौटा सडकमा यस्तो समस्या दोहोरिन नदिन नयाँ मोडालिटी अपनाउन र निर्माण प्रक्रिया सुधार गर्न जोड दिए। गलत तरिकाले निर्माण गर्दा केवल यात्री मात्र नभई उद्योगी व्यवसायीले समेत ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने भएकाले जिम्मेवार भएर अघि बढ्न सबैलाई सचेत गराए।

कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले स्तरीय सडक पूर्वाधारको अभाव र निर्माणमा हुने ढिलाइका कारण वर्षेनी धेरै मानिसले अकालमा ज्यान गुमाउनुपरेको बताए। उनले यातायात व्यवसायीहरू ढिलासुस्तीको प्रत्यक्ष मारमा रहेको भन्दै, राज्यबाट प्राप्त सेवा र सुविधाहरू विचौलियाको हातमा पर्ने गरेको गुनासो गरे।

विद्युतीय सवारी साधनको आयात र प्रयोग बढ्दो अवस्थामा भए पनि भन्सार छुटजस्ता सुविधाबाट व्यवसायीहरू वञ्चित भएको उनले बताए। पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. विद्युतीय सवारी सञ्चालन गर्ने दोस्रो संस्था भएको उल्लेख गर्दै उनले आगामी दिनमा यसलाई देशकै अग्रणी संस्थाको रूपमा स्थापित गर्ने योजना प्रस्तुत गरे।

कार्यक्रममा खरेलले यातायात व्यवसायीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाले ठूलो लगानी गर्नुपर्ने अवस्था आएको र कतिपय व्यवसायी विस्थापित हुनुपरेको बताए। उनले सदस्यहरूलाई सचेत रहन आग्रह गर्दै टिकट काउन्टरलाई महिलामैत्री बनाउने तथा सेवालाई थप गुणस्तरीय र विश्वसनीय बनाउने योजना सार्वजनिक गरे।

कार्यक्रममा लामो समय योगदान दिएका मजदुर, कर्मचारी, र व्यवसायीहरूलाई सम्मान गरियो। साथै, नेपाल पत्रकार महासंघको निर्वाचनबाट नवनिर्वाचित केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, र जिल्ला कार्यसमितिका पदाधिकारीलाई समेत सम्मान गरियो।

सो अवसरमा बोल्दै रुपन्देही जिल्लाका नवनिर्वाचित अध्यक्ष दिनेश पाण्डेले महासंघ यातायात व्यवसायीहरूसँग सहकार्य गर्न सधैँ तयार रहेको बताए। निजी क्षेत्रका समस्याहरूमा महासंघले आवाज उठाउने र सत्य–तथ्यमा आधारित रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको सञ्चालन प्रा.लि.का सञ्चालक रामचन्द्र भुसालले गरेका थिए। यातायात व्यवसायीहरूका समस्या समाधान गर्न सरकारको व्यवसायीमैत्री नीति आवश्यक रहेको धारणा वक्ताहरूले व्यक्त गरे।

 
 
  
 

You may also like