बुटवल।देशकै उत्कृष्ट विद्यालयको रूपमा पहिचान बनाएको बुटवलको कालिका मानवज्ञान माविले आफ्नो ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ।
वार्षिकोत्सवको अवसरमा आगामी पुस २ गतेदेखि ७ गतेसम्म विभिन्न खेलकुद प्रतियोगिता र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिने विद्यालयले जनाएको छ।
विद्यालयले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै वार्षिकोत्सवको तयारीका बारेमा जानकारी गराएको हो। वार्षिकोत्सवको अवसरमा कालिकामा जिल्ला स्तरीय रनिङ शिल्ड खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, साहित्यिक कार्यक्रम र प्रदर्शनी कार्यक्रमहरू आयोजना गरिने विद्यालयले जनाएको छ।
प्रधानाध्यापक दिनेश थापाले वार्षिकोत्सव र अभिभावक दिवसका विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी गराए। पुस २ गतेदेखि ५ गतेसम्म जिल्ला स्तरीय छात्र-छात्रा भलिबल प्रतियोगिता, कबड्डी प्रतियोगिता, एथलेटिक्स प्रतियोगिता (१००, २००, ४००, ८००, १५०० मिटर दौड) र रिले दौड (४x४००, ४x१००) आयोजीत गरिने प्रधानाध्यापक थापाले जानकारी दिए।
वार्षिकोत्सवका अवसरमा भलिबल, कबड्डी, एथलेटिक्स विजेता टिमलाई नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गरिने छ। यी खेलहरू विद्यालयको सेक्टर १ कालिकानगर र सेक्टर २ रामनगरमा सञ्चालन गरिने छन्।
पुस ४ गते शेर बहादुर गुरुङ्ग जिल्ला स्तरीय कविता प्रतियोगिता (सेक्टर १ कालिकानगर) र “मन्दिरा गलामी स्मृती कालिका गायन तारा २०८१” (सेक्टर १ कालिकानगर) प्रतियोगिता आयोजना गरिने विद्यालयले जनाएको छ।
पुस ६ गते लुम्बिनी प्रदेशका सभामुख माननीय तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यतामा स्व. अरुण पौडेल स्मृती ५००० मीटर दौड प्रतियोगिता (सेक्टर १ कालिकानगर) र विविध छात्रवृत्ति अक्षयकोष वितरण कार्यक्रम (सेक्टर २ रामनगर) आयोजना गरिनेछ।
पुस ७ गते विज्ञान, प्रविधि र पुस्तक प्रदर्शनी, मूल समारोह (सेक्टर १ कालिकानगर) मा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख अतिथ्यतामा कार्यक्रम आयोजना गरिने छ।
कालिका मानवज्ञान माविले २०६७ सालदेखि नगर स्तरीय र २०७८ सालदेखि जिल्ला स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको इतिहास छ। २०७६ सालमा १४-१४ ओटा स्वर्ण, रजत र कास्य पदक जितेको विद्यालयले २०७८ र २०७९ मा क्रमशः १६-१६ र २४-२४ पदक जितेको छ। यस वर्ष ३२-३२ पदकका साथ खेलकुद प्रतियोगिता सञ्चालन भइरहेका छन्।
विद्यालयले शैक्षिक र प्राज्ञिक क्षेत्रमा मात्र नभई खेलकुद र अतिरिक्त क्रियाकलापमा समेत उल्लेखनीय उपलब्धि हासिल गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पदक जितेको छ। “बाह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता” मा कबड्डी खेलमा राहुल अर्याल र दीपेश यादवले स्वर्ण पदक जितेका छन्। यसै गरी गण्डकी प्रदेशको “नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता” मा सलिम देवानले लङ जंपमा नयाँ रेकर्ड बनाउँदै स्वर्ण पदक जितेका छन्।
पत्रकार सम्मेलनमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले सबैको साथ र सहयोगबाट कालिका विद्यालयले देशभरि उच्च स्थान प्राप्त गरेको बताए। उनले कालिका मानवज्ञान माविको ६४ औं वार्षिकोत्सव र अभिभावक दिवस २०८१ पुस २ देखि ७ गतेसम्म विभिन्न कार्यक्रमहरूमा पत्रकारिता क्षेत्रबाट सक्रिय सहभागिता जनाउन सबैलाई आग्रह गरे।