अब सुविधाको खोजीमा सहर पस्नु पर्ने अवस्था छैन : मुख्यमन्त्री आचार्य

by समतल अनलाइन

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडकलगायत विकास पूर्वाधार गाउँकेन्द्रित भइरहेकाले सुविधाका निम्ति सहर पसेकाहरूलाई ‘गाउँ फर्क’ अभियान चलाउनु पर्ने बताएका छन् ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–२ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको स्वर्णजयन्ती महोत्सवको शनिबार उद्घाटन गर्दै उनले तीन तहका सरकारले गाउँकेन्द्रित विकासलाई प्राथमिकतामा राखेर सुविधा पुर्‍याइरहेकाले अब यस्तो अभियान जरुरी रहेकामा जोड दिए ।

‘हामीले गाउँमा विकास र सुविधा पुर्‍यायौँ । त्यही सुविधाका लागि सहर पसेकाहरू गाउँ फर्कन आवश्यक छ’, मुख्यमन्त्री आचार्यले भने, ‘अब राम्रो स्कुलमा पढाउनकै लागि घरमा ताला लगाएर सहर पस्नुपर्ने अवस्था छैन । रोजगारी सिर्जनाका लागि पनि अब गाउँ फर्किएर उद्यम गर्न सकिन्छ । त्यो अवसर विकास भएको छ ।’

उनले राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी तथा समाजका अगुवाले यो अभियानलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए । ‘राजनीतिक दलका कार्यकर्ता पनि अब उद्यमशील बन्नुपर्छ । व्यावसायिक बनेमा स्वदेशमै राम्रो कमाइ गर्न सकिन्छ भन्ने सन्देश फैलाउन पनि उत्पादनसँग जोडिनै पर्छ’, उनले भने । उनले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताए ।

‘गुणस्तरीय शिक्षा र नतिजा सुधार्न एउटा पक्षले मात्रै ख्याल गरेर हुँदैन । यसमा शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालयय व्यवस्थापन पक्ष, जनप्रतिनिधि सबै साझा रूपमा अघि बढ्न सक्नुपर्छ । गत वर्षको एसईई नजिता सन्तोषजनक भएन । यसपालिको नजिता सुधार गर्न सबै चिन्तित र संवेदनशील बन्नै पर्छ’, मुख्यमन्त्री आचार्यले भने । कार्यक्रममा विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए ।

 
 
  
 

You may also like