नेपाल सम्वत ११४५ बुटवलमा मोटरसाइकल र्‍याली, क्यालेन्डर विमोचन, र सम्मानका साथ मनाइने

by समतल अनलाइन

बुटवल। नेपाल सम्वत ११४५ को स्वागतमा बुटवलमा विविध कार्यक्रमहरू आयोजना गरिने भएको छ। नेवा देय दबु नगर समितिको मुख्य आयोजनामा, बुटवलका १० वटा खलपुचहरूको सहभागितामा दुईदिने कार्यक्रम गरि नेपाल सम्वतलाई सबै नेपालीको साझा सम्बतका रूपमा चिनाउने प्रयास गरिँदैछ।

कार्यक्रम अन्तर्गत विहिबार दिउँसो वृहत मोटरसाइकल र्‍याली आयोजना हुने र शनिबार शुभकामना आदानप्रदान र सम्मान समारोह आयोजना गरिने भएको छ।

विहिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष गोपाल श्रेष्ठले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार शुक्रबार दिउँसो ४ बजे राजमार्ग चौराहाबाट सुरु हुने मोटरसाइकल र्‍याली बुटवल बजार परिक्रमा गर्दै योगीकुटी हुदै देविनगरस्थित नेवा सेवा समितिको कार्यालयमा समापन गरिनेछ। र्‍यालीमा ५ दर्जन भन्दा बढी मोटरसाइकलहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

यस वर्ष काठमाडौँ बाहिर पहिलोपटक नेपाल सम्वतको क्यालेन्डर विमोचन गरिने छ। साथै, बुटवलमा नेवार समुदायको भाषा र संस्कृतिमा योगदान पुर्‍याएका नेवा दे दबुका संस्थापक अध्यक्ष रविन्द्रगोपाल लाकौललाई विशेष सम्मान गरिने कार्यक्रम पनि राखिएको छ।

कार्यक्रममा नेवा सेवा समिति देविनगर, भिमसेन सेवा समाज बुटवल–३, भिन्धो नेवा समाज (बुटवल –१७,१८,१९), नेवा संस्कृति संरक्षण समाज देविनगर, भिमसेन सेवा समाज देविनगर, गणेश नेवा समाज देविनगर, नेवा समाज १ र २, नेवा समाज अर्घाखाँची रुपन्देही लगायतका खलपुचहरूको पनि सहभागिता रहनेछ।

नेवा सेवा समिति देविनगरका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले नेपाल सम्वतलाई सबै नेपालीको साझा सम्वतको रुपमा पहिचान दिन यस कार्यक्रममा सबैको उपस्थिति हुने बताए।

 
 
  
 

You may also like