बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या २४६

by समतल अनलाइन

काठमाडौं । असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढी–पहिरोमा परेर आज (सोमबार) सम्म मृत्यु हुनेको संख्या २४६ पुगेकाे छ । नेपाल प्रहरीले आज सार्वजनिक गरेको विवरण अनुसार आजसम्म एक सय ७८ घाइते भएका छन् भने १८ जना बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

उनका अनुसार कूल १७ हजार १७४ को उद्धार गरिएको छ । सबैभन्दा ठूलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौँ उपत्यकामा धेरै क्षति भएको छ । बागमतीमा मात्रै १३९ जनाको मृत्यु भएको छ । १७६ आश्रित परिवारलाई ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ बमोजिम राहत रकम उपलब्ध गराइएको छ । प्रभावित परिवारलाई नगद सहायता तथा राहत सामग्री वितरण जारी रहेको उनले जानकारी दिए ।

मन्त्रालय अन्तर्गत केन्द्रीय विपद् गोदाममा रहेको राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको मागको आधारमा उपलब्ध गराइएको छ । आपत्कालीन राहत, पुनः निर्माण र पुनः स्थापनालाई प्रभावकारी बनाउने उद्देश्यले गृह मन्त्रीसहितको टोलीले विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरी राहत र पुनः निर्माणलाई गति दिन निर्देशन दिएको प्रवक्ता तिवारीले बताए ।

विभिन्न राजमार्गका अवरोध हटाइ वा वैकल्पिक व्यवस्था गरी सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । लाभग्राहीको विवरण प्राप्त हुनासाथ प्रभावितलाई खाद्यान्नलगायत तत्काल गुजारा गर्न नगद र अस्थायी आवास निर्माणका लागि पहिलो किस्तावापत् रकम जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय तहमार्फत उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like