दुई एजेण्डामा छलफल गर्न आज कांग्रेस पदाधिकारी बैठक बस्दै

by समतल अनलाइन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् । बैठक बुधबार बिहान ८ः३० बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने छ ।

विशेषगरी कांग्रेस उपसभापति धनराज गुरूङमाथ सहकारी बचत सम्बन्धमा उठेको प्रश्नबारे सामुहिक धारणा बनाउने बैठकको एजेण्डा छ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा उनलाई हटाउने तयारी भइरहेको अवस्थामा सोही विषयमा छलफलका लागि देउवाले बैठक बोलाएको बताइएको छ । बैठक आज बिहान देउवा निवास बुढानीलकण्ठमा बस्दैछ ।

सत्तारुढ दलको बैठकले उपसभामुख रानालाई हटाउनेबारे निर्णय गरिसकेको छ । सभापति देउवाले यसबारे पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको धारणा बुझ्न खोजेको बताइएको छ । राजीनामा दिन उपसभामुख रानालाई प्रतिनिधि सभामा पनि दवाब बढ्दै गएको छ । सत्तारुढ दलबाट निर्वाचित सांसदहरुले आजको प्रतिनिधि सभा बैठकमा उपसभामुख रानाको राजीनामा माग गरेका थिए ।

रानाले पदीय मर्यादा र गरिमा जोगाउन नसकेको सत्तारुढ दलका नेताहरुको आरोप छ । उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवाहरुलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेपछि उनी विवादमा रहेकी छन् ।

 
 
  
 

You may also like