लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

भैरहवा । दुई दिने ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ शुक्रबारदेखि शुरू भएको छ । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसर पारेर बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ध्यानको माध्यमबाट समाजिक रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।

ध्यानले आफुलाई चिन्न सिकाउने भएकाले आफुलाई चिन्ने व्यक्ति सधै समाजमा पछि पारिएका बर्ग समुदाय संगै सिंङ्गो मानव जातिको मुक्तिको पक्षमा उभिने उहाँको भनाइ छ । बुद्ध मार्ग शान्ति र ध्यान एक अर्काको परिपुरक भएको उल्लेख गर्दै लुम्बिनीलाई बुद्धमार्ग संगै ध्यानको पनि केन्द्रको रुपमा विकास गर्नु पर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले ध्यानका माध्यमबाट शारिरीक तथा मानसिक स्वाथ्यलाई थप मजबुत बनाउन सकिने भएकाले यसलाई अध्यात्मवादको नयाँ आयामका रुपमा लिन सकिने बताउनुभयो ।

त्यस्तैगरी नेपालका लागि चिनियाँ राजदुत चेन सोङले नेपाल हिमाल र नदिहरुले जोडिएको उल्लेख गर्दै सगरमाथा नेपाल चिनबिचको मित्रताको साक्षी भएको बताउनुभयो । बुद्ध जन्मस्थल नेपाल भएको र चिनमा बौद्धमार्गीहरुको अधिक संख्या रहेका कारण धार्मिक तथा साँस्कृतिक रुपमा पनि नेपाल र चिनबिच अन्योन्याश्रित सम्बन्ध रहेको उहाँले उल्लेख गर्नुभयो । नेपाली राजकुमारी भृकुटीको र मुर्तिकार अरनिकोलाई नेपाल र चिन दुबै देशमा चर्चा गरिने गरेको स्मरण गर्दै राजदुत सोङले यसबाट परापुर्वकादेखि नै नेपाल र चिनबिच गहिरो मित्रता रहेको बुझ्न सकिने बताउनुभयो ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले ध्यानको माध्यमबाट बुद्धजन्मस्थल लुम्बिनीको प्रचार प्रसार गर्न सकिने बताउनुभयो । नेपाल ओभरसिज चाईनिज एशोसियसन (एनओसिए), लुम्बिनी स्थित झोङ हुआ गुम्बा र लुम्बिनी होटल एशोसियसनसंगको सहआयोजना तथा लुम्बिनी बौद्ध विश्वविद्यालय, युनान पर्वतारोहण तथा आउट डोर स्पोर्ट एशोसियसन, लुम्बिनी प्रदेश पर्यटन विकास परिषद र ग्रिनरोडले सहकार्य गरेका छन । शनिबार विहान लुम्बिनी अन्तराष्ट्रिय शान्ति म्याराथन गरिने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एव पूर्वमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like