रुपन्देहीमा ३ लाख भन्दा धेरै बालवालिकालाई दादुरा–रुबेलाको खोप लगाइने

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा ३ लाख भन्दा धेरै बालवालिकालाई दादुरा–रुबेलाको खोप लगाउने तयारी गरिएको छ । एक हजार एक सय खोप केन्द्र मार्फत दुईचरणमा गरेर खोप लगाइँदै छ ।

खोेप लगाउनका लागि २ हजार २ सय जना स्वास्थ्यकर्मी र ३ हजार ३ सय जना स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, रुपन्देहीमा ९ महिनादेखि १५ बर्ष उमेर पुरा गरेका ३ लाख १४ हजार ७ सय ३८ जना बालवालिकालाई आउँदो फागुन १३ देखि २४ गतेसम्ममा उक्त खोप लगाउने तयारी गरिएको हो ।

दादुरा–रुवेला खोप अभियान २०८०–०८१ सम्बन्धि उक्त कार्यालयले बुटवलमा संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै खोप अभियान अन्तर्गतका सवै योजना तयारी अवस्थामा रहेको र रुपन्देहीमा २ चरणमा खोप लगाइने जनाएको छ । कार्यालयका अनुसार १६ वटा पालिका रहेको रुपन्देहीमा प्रथम चरणमा फागुन १३ देखि १७ गतेसम्म बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, तिलोत्तमा, लुमिबनी सांस्कृतिक, सिद्धार्थनगर नगरपालिका, ओमसतिया गाउँपालिका, रोहिणी, सियारी र शुद्धोधन गाउँपालिकामा खोप लगाउने तयारी गरिएको छ ।

दोस्रो चरणमा फागुन २० देखि २४ गतेसम्म सैनामैना नपा, गैडहवा गापा, कंचन गापा, सम्मरीमाई गापा, मर्चवारी गापा, कोटहीमाइ र मायादेवी गाउँपालिकामा लगाइने छ । स्वास्थ्य कार्यालयका अनुसार, रुपन्देहीमा ३४ हजार ९ सय ३६ वटा खोपको भायल र ३ लाख ९१ हजार ५ सय ४ वटा सिरीन्जको प्रयोग हुने छ ।

स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले खोप लगाउन कुनै पनि बालबालिका नछुटाउनका लागि सरकारले देशव्यापी रुपमा खोप अभियान संचालन गरेको बताए । ‘यो खोप अभियानमा जन्मिएको १५ महिना पुरा गरी नियमित दुई चरणको यो खोप लगाइसकेका बालवालिकालाई पनि छुटाएने छैन’, ढकालले भने, ‘सँगसँगै अन्य नियमित खोप लगाउनदेखि पनि छुटेका छन्–छैनन् ? भन्ने वारेमा सोधखोज गरिने छ ।’

उनका अनुसार न्युनतम २ सय ५० जनासम्म बालवालिका आध्ययनरत संस्थागत तथा सामुदायिक बिद्यालयलाई खोपकेन्द्र बनाइएको छ । बिद्यालयबाट बञ्चित रहेका तथा हुन सक्ने सम्भावना रहेका मजदुरको बस्ती र बिद्यालयदेखि टाढाका बस्तीका वालवालिकालाई पनि खोप नछुटाउने गरि व्यवस्था मिलाइएको छ ।

सन् २०२३ मा दादुरा–रुवेलाको संक्रमणलाई निर्मुल पार्ने प्रतिबद्धता गरिएको भए पनि कोभिड महामारीका कारण धेरै वालवालिका यो खोपबाट छुटेकाले पुरा हुन सकेन । सरकारले सन् २०२६ सम्ममा दादुरा–रुवेला नेपालमा निवारण गर्ने लक्ष्य राखेको छ । गत बर्ष १ हजार ३ सय ३९ जनामा यो संक्रमण देखा परेको थियो । संक्रमितमध्ये केहीको मृत्यु पनि भएको थियो ।

यस बर्ष अभियानको रुपमा नेपाल भरि ९ महिनादेखि १५ बर्ष उमेर समूहका ५७ लाख ४२ हजार ९ सय ५३ जनामा दादुरा–रुबेलाको खोप अभियान सरकारले संचालन गरेको छ ।

 
 
  
 

You may also like