विश्वकप छनोट : नेपाल यूएईसँग फराकिलो अन्तरले पराजित

by समतल अनलाइन

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई) सँग नेपाल ४–० को फराकिलो अन्तरले पराजित भएको छ ।

यूएईको दुबईस्थित अल–मक्टोउम रंगशालामा सम्पन्न खेलमा नेपालले चारै गोल पहिलो हाफमा बेहोरेको थियो । यूएईको खलिफा मुबारक अलहमादीले १०औँ मिनेटमा हेडर गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । ३६औँ मिनेटमा कप्तान अहमद मब्खाउटले पेनाल्टीमा गोल गर्दै यूएईको अग्रता दोब्बर पारे ।

पहिलो हाफ हुन एक मिनेट बाँकी रहदा कप्तान मख्बाउटले नै हेडर गोल गरेपछि यूएईले अग्रतालाई ३–० मा पुर्‍याएको हो । पहिलो हाफको इन्जुरी समयमा फाबिलो लिमाले गोल गर्दै घरेलु टिमलाई ४–० को अग्रतामा राखेका थिए । यसपछि दोस्रो हाफमा भने नेपालले कुनै गोल बेहोरेन ।

छनोटमा नेपाल समूह ‘एच’मा छ । यस समूहमा नेपाल र यूएईसँगै बहराइन र यमन छन् । हाल यूएई फिफा वरीयताको ६९औं स्थानमा छ । नेपाल १७३औं स्थानमा छ । छनोटको दोस्रो चरणमा नेपालको यो पहिलो खेल हो । नेपालले यसअघि पहिलो चरणमा लाओसलाई समग्रमा २–१ ले हराएको थियो ।

 
 
  
 

You may also like