दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

by समतल अनलाइन

काठमाडौँ । म्यानमारसँगको दोस्रो मैत्रीपूर्ण फुटवल खेलमा नेपाली राष्ट्रिय टोली पराजित भएको छ । पहिलो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको नेपाली टोली सोमबार भएको दोस्रो खेलमा भने १–० गोलअन्तरले पराजित भएको हो ।

म्यानमारको जितमा खेलको ८६ औँ मिनेटमा विन नानिङ टनले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित सकिएको अवस्थामा म्यानमारले दोस्रो हाफमा नेपाललाई स्तब्ध बनाएको हो । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोलीसँग गोल रहित बराबरी खेलेको थियो । अन्जन विष्ट पेनाल्टीमा चुक्दा नेपाल जितबाट बिमुख बनेको थियो ।

राष्ट्रिय टिमका प्रभावशाली फरवार्ड अन्जनलाई नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बनाउने अवसर म्यानमारविरुद्ध थियो । तर उनी त्यो अवसरबाट चुकेका छन् । उनले म्यानमारविरुद्ध कम्तीमा एक गोल गरेको भए अन्जनले नेपालका लागि सर्वाधिक १३ गोलको कीर्तिमानी बराबरी गर्ने थिए । नेपाल विश्वकप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल्न म्यानमार गएको हो । फिफा मान्यता प्राप्त मैत्रीपूर्ण खेललाई नेपालले सन् २०२६ को विश्वकपको छनोट तयारी मानेको छ ।

 
 
  
 

You may also like