पदभार ग्रहण गर्दै ल्हारक्याल लामाले भने : गौतम बुद्ध र मायादेवी मन्दिर साक्षी राखेर राम्रो काम गर्छु

by समतल अनलाइन

बुटवल। लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा.ल्हारक्याल लामाले बिहीबार पदभार ग्रहण गरेका छन् । बुद्धजन्मस्थल लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा नवनियुक्त उपाध्यक्ष लामाले पदभार ग्रहण गरी औपचारिक रूपमा कार्यभार सम्हालेका हुन् ।

बिहीबार पदभार ग्रहण गर्दै लामाले लुम्बिनीको इज्जत र पवित्र भूमिको बदनाम नगर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘मलाई पत्याएर काम गर्न सक्छ भनेर यहाँ पठाउनुभएको छ। गौतम बुद्ध, मायादेवी मन्दिर साक्षी राखेर काम गर्छु। लुम्बिनीको इज्जत, पवित्र भूमिको बदनाम गर्नेछैन। कुनै खालको भ्रष्टाचार, अनियमितता, कुनै खालको मिसयुज गर्नेछैन। सबैसँग समन्वय गरेर काम गर्नेछु।’

उनलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतले खादा ओढाएर कार्यालयमा स्वागत गरेका थिए ।

उपाध्यक्ष लामाले बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किमी दक्षिणस्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालिन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन गर्ने निर्णय सदर गरेका छन् ।

उपाध्यक्ष लामाले विश्वमा मानव रहँदासम्म बुद्ध र लुम्बिनीको महत्त्व रहने बताउँदै विश्वभरका पर्यटकलाई लुम्बिनी ल्याउने वातावरणका लागि आफूले हालसम्म प्राप्त गरेको अनुभवहरू प्रयोग गर्ने बताए । उनले लुम्बिनीलाई पवित्र स्थलका रूपमा परिचित बनाउने गरी काम गर्नका लागि पदाधिकारी, कर्मचारी, स्थानीयहरूसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।

उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी)को कार्यकाल साउन ९ गते सकिएपछि प्रचण्ड नेतृत्वको सरकारले साउन १६ गते डा.लामालाई उपाध्यक्षका रूपमा नियुक्त गरेको थियो ।

 
 
  
 

You may also like